२२ कात्तिक , काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएका छन् । अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ ।
हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बताए ।
मेलम्ची खानेपानीको दोस्रो फेजका रूपमा लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य यसै वर्ष सुरु हुनेछ । डिपिआर पास भएलगत्तै लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य अघि बढ्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक देवकोटाको भनाइ छ ।
लार्के र यांग्रीको डिपिआर स्पेनिस परामर्शदाता इपिसाले तयार गर्दै छ । १० महिनादेखि डिपिआर निर्माणमा लागेको इपिसाले दुई महिनाभित्र सबै काम सक्ने जनाएको छ । योजनाअनुसार लार्के र यांग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं उपत्यका ल्याइनेछ । यसपछि मेलम्ची खानेपानीको सुरुङ भएर दैनिक ५१ करोड लिटर पानी उपत्यका भित्रिनेछ ।
सिन्धुको माथिल्लो भाग र ग्याल्थुमको माथिल्लो र तल्लो दुवै भागबाट सुरुङ खन्ने काम दु्रत रूपमा अघि बढेको छ । ‘सुरुङ खन्न चार प्रतिशत मात्र बाँकी छ, द्रुत रूपमा काम सक्न ठेकेदार कम्पनीले सोहीअनुसार कामदार खटाएको छ । यसले चाँडै आयोजना पूरा हुनेमा आत्मविश्वास जगाएको छ,’ कार्यकारी निर्देशक देवकोटाले भने ।
मेलम्ची खानेपानी आयोजनाको जिम्मा लिएको इटालियन कम्पनी सिएमसी डी राभेना र नेपाली व्यवसायीबीचको विवाद पनि साम्य भएको छ ।सिएमसीविरुद्ध संघर्ष समिति नै गठन गरेका नेपाली व्यवसायीले काठमाडौंवासीको मेलम्ची सपना छिटोभन्दा छिटो पूरा गर्न इटालियन कम्पनीसँगको सहकार्य र समझदारी जारी रहने जनाएका छन् ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।