२३ कात्तिक , काठमाडौँ – राप्रपा प्रजातान्त्रिकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ‘चुनावी घोषणापत्र २०७४’ सार्वजनिक गरेको छ ।
राप्रपा प्रजातान्त्रिकले निर्वाचनको पूर्वसन्ध्यामा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन र पार्टी एकताको प्रक्रियाले बहुलवादी लोकतन्त्रको भविष्यमा गम्भीर प्रश्न चिह्न खडा भएको बताएको छ ।
‘एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन र पार्टी एकताको प्रक्रिया हठात् अघि बढाइएकाले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न नपाउँदै देशलाई पुनः अर्को अस्थिरता र द्वन्द्वको शृंखलातर्फ धकेल्ने आशंका उत्पन्न गरेको छ ।’
संविधान कार्यान्वयन गर्नुपर्ने समयमा एउटै कम्युनिस्ट पार्टी निर्माण गरी साम्यवाद र एकदलीय अधिनायकत्व कायम गर्ने आशयसहितको उद्घोष हुनु मुलुकमा असहज परिस्थिति निम्त्याउने रणनीति भएको घोषणापत्रमा उल्लेख छ ।
आफैँले जन्माएको संविधान र संवैधानिक प्रणालीलाई आमनिर्वाचनका माध्यमबाट ‘बहुलवादी संघीय लोकतन्त्र’ को सट्टामा ‘सर्वसत्तावादी कम्युनिस्ट राज्यप्रणाली’ स्थापना गर्ने उद्देश्यसहितको कम्युनिस्ट–गठबन्धनबाट देशमा थप संकट पैदा हुने राप्रपा प्रजातान्त्रिकको दाबी छ ।
राप्रपा प्रजातान्त्रिकले घोषणापत्रमा पार्टीका ५ वटा मूल्य मान्यता र लक्ष्य रहेको उल्लेख गरेको छ । पार्टीका लक्ष्यमा हिन्दुराष्ट्रको पहिचानदेखि लोककल्याणकारी राज्यसम्म समेटिएको छ ।
सबल राष्ट्रियता, सुदृढ प्रजातन्त्र र नेपाली जनताको सम्मान ।
परम्परागत शक्तिको सम्मानसहितको बहुलवादी लोकतन्त्र ।
पूर्ण धार्मिक स्वतन्त्रता र सर्वधर्म समभावसहितको हिन्दुराष्ट्रको पहिचान ।
गरिबी र भ्रष्टाचारमुक्त, समृद्धिशाली र सुशासनयुक्त लोककल्याणकारी राज्य ।
मध्यम आयस्तरको समुन्नत राष्ट्रमा नेपालको स्तरोन्नति गर्ने ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।