२४ कात्तिक , बनियानी, झापा – झापाको कनकाई नगरपालिकास्थित ‘ज्येष्ठ नागरिक आदर्श चौतारी’ ज्येष्ठ नागरिकको सुखदुःख साटासाटको थलो बनेको छ ।
यहाँ बिहान ११ बजेदेखि दिउँँसो २ बजेसम्म कनकाई ३ र ४ का ४० जनाभन्दा बढी ज्येष्ठ नागरिकले सुखदुःख साटासाटसँगै भजनकीर्तन गरेर दिन बिताउने गरेका छन् । दैनिक भेला हुने उनीहरु सत्संग, भजनकीर्तन गर्छन् र एकआपसमा सुख–दुःखका कुरा गर्छन् । हाल यो चौतारी उनीहरूका लागि मनको बह पोख्ने र सुन्ने थलो बनेको छ ।
स्थानीय अगुवाको पहलमा बनेको यो चौतारीमा गत साउनदेखि सञ्चालनमा ल्याइएको हो । चौतारीको संरक्षणका लागि सञ्चालक समितिसमेत निर्माण गरिएको छ । चौतारीमा बस्दै आउनुभएका ७३ वर्षीय हरिप्रसाद तिवारीले यो स्थल बुढेसकालको सहारा बनेको बताउनुभयो ।
‘यहाँ ज्येष्ठ नागरिकको व्यक्तित्वबारे पनि चर्चा गर्छौं’, उहाँले भन्नुभयो, “भजन गाउन प्रतिस्पर्धा पनि हुँदै आएको छ तर यहाँ शौचालय र खानेपानीको समस्या छ ।”
चौतारीमा भलाकुसारी गर्दै बस्नुभएकी ९० वर्षीया नरमाया सुवेदीले घरमा सुतेर दिन बिताउनुभन्दा यहाँ आएर बस्दा रमाइलो हुनेगरेको बताउनुभयो । ‘चौतारी बनेपछि राम्रा र ज्ञानका कुरा सुन्न पाएकी छु’, उहाँले भन्नुभयो, “यहाँ आएर आफ्नै उमेरकासँग भलाकुसारी गर्दा रमाइलो लाग्छ । घरमा एक्लै बस्दा दिग्दार लाग्ने गरेकाले पनि चौतारीमा आउने गरेकी छु ।”
ज्येष्ठ नागरिक संघ कनकाई–४ का अध्यक्ष खेमराज दाहालले बुढेसकालमा घरमा बस्दा दिग्दार हुने भएकाले सुखद् दैनिकिका लागि चौतारी महत्वपूर्ण भएको बताउनुभयो । संघका सचिव विनोद दाहालले बुढेसकालमा काम गर्न नसकिने, समय पनि सजिलै बित्ने र पारिवारिक खटपट भएका अबस्थामा मन शान्त बनाउन यो प्रयास गरिएको बताउनुभयो ।
रू एक लाखको लागतमा निर्माण गरिएको चौतारीमा अहिले टाढाबाट पनि बस्न आउने गरेका छन् । “ज्येष्ठ नागरिकको सम्मानका लागि सबै गाउँमा यस्तै चौतारी बनाउन आवश्यक छ”, सचिव दाहालले भन्नुभयो, “अहिले वृद्धाश्रम खोल्नेको होड बढेको छ, त्यसको सट्टा यो स्थल उपयुक्त छ ।’’
बुबाआमालाई वृद्धाश्रम पठाउनुभन्दा यस्ता चौतारी निर्माण गरेर आफ्ना अभिभावकको सम्मान गर्न उहाँले सुझाव पन दिनुभयो ।
रासस