२४ कात्तिक , हेटौडा – आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले मतदाता शिक्षामा जोड दिएका छन् ।
स्थानीय तह निर्वाचनमा हेटाँैंडा उपमहानगरपालिकामा भएको अत्यधिक मत बदरको कारण यसपटक सबै दल तथा तिनका उम्मेदवारले मतदाता शिक्षामा जोड दिएका हुन् । उनीहरु नमूना मतपत्रको पर्खाइमा छन् ।
नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने विगतको गल्तीबाट पाठसिकेकाले आफ्ना भातृ संगठनलाई मतदाता शिक्षाका लागि खटाएको बताउनुहुन्छ । “यसपटक हामी गल्ती दाहोरिन दिदैनौं, मतदाता शिक्षामा जोड दिएका छौँ ।”
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्लेलले टोल टोलमा एमाले र (माओवादी केन्द्र)को संयुक्त टोली मतदाता शिक्षाका लागि परिचालन गरिएको बताउनुभयो । उहाँले निर्वाचन कार्यालय मकवानपुरले नमूना मतपत्र वितरण गर्ने वित्तिकै टोलीले अभियानलाई थप तीव्रता दिने बताउनुभयो ।
यस्तै, नेकपा (माओवादी केन्द्र) मकवानपुरकी इञ्चार्ज एवं मकवानपुर क्षेत्र नं २ प्रदेश सभा (ख)की उम्मेदवार कुमारी मोक्तनले वाम गठबन्धनको चुनावी अभियानको लागि एमाले र माओवादी केन्द्रले गठन गरेको संयुक्त टोलीले हरेक मतदातालाई मतदान गर्ने तरिका सिकाउने गरेको बताउनुभयो ।
राप्रपा नेपालले पनि निर्वाचन कार्यालयको मात्र भर नपरी आफ्ना सबै कार्यकर्तालाई मतदाता शिक्षामा खटाउने निर्णय गरेको सो पार्टीका जिल्ला अध्यक्ष गणेश थापाले बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा ६२ हजार ८० मत खसेको हेटौँडा उपमहानगरपालिकामा प्रमुख पदमा सात हजार ५८२ र उपप्रमुखमा ११ हजार ९९५ मत बदर भएको थियो ।
रासस