२४ कात्तिक , बोन, जर्मनी – इटालीले विद्युतमा प्रयोग गर्दै आएको कोइलालाई सन् २०२५ सम्म पूर्णतया हटाउने भएको छ । दिगो तथा प्रतिश्पर्धी उर्जा रणनीति कार्यक्रम अनुसार इटाली सरकारले राष्ट्रिय प्रयोगका लागि हुने विद्युतको मागलाई कोइलाबाट ननिकालिने इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनीले शुक्रबार बताउनुभयो ।
रोममा राष्ट्रिय उर्जा रणनीति कार्यक्रम योजनाको हस्ताक्षर समारोहमा आफ्ना वातावरण तथा आर्थिक विकास मन्त्रीले ल्याएको कार्यक्रमको सार्वजनिक गर्दै प्रधानमन्त्री जेन्टिलोनीले भन्नुभयो, “ यस कार्यक्रमले इटालीमा कोइलाकाको प्रयोगका कारण कार्बन उत्सर्जनमा सन् २०३० सम्म ३९ प्रतिशत र सन् २०५० सम्म ६३ प्रतिशत कमी आउनेछ ।”
यो योजनाका लागि इटालीले विद्युतका लागि आधारभूत भौतिक संरचना, नवीकरणीय उर्जा र उर्जा क्षमता विकासमा २०४ अर्ब अमेरिकी डलरको लगानी गर्नेछ ।
सन् २०१५ को सरकारी तथ्याङ्क अनुसार इटालीको राष्ट्रिय विद्युत उत्पादनमा कोइलाका कारण १६ प्रतिशत कार्बन उत्सर्जन हुनेगर्छ ।
रासस/एपी