२४ कात्तिक , काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शुक्रराज शर्माले लामो समयसम्मको उतारचढावपश्चात राष्ट्रले प्राप्त गरेको उपलब्धिको रक्षार्थ काँग्रेसलाई मत दिनुको विकल्प नरहेको बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १ बगरमा आज चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उहाँले वाम गठबन्धनका नाममा लोकतन्त्रलाई समाप्त गरी अधिनायकवाद लाद्ने षड्यन्त्र भइरहेका कारण चुनावलाई लोकतन्त्रको रक्षाको आन्दोलनका रुपमा लिँदै काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
विकास र समृद्धि अबको आवश्यकता भएको बताउँदै उहाँले जनताको आवश्यकता र समयको मागअनुरुप विकासका योजनालाई अघि बढाउनका लागि आफ्नो उम्मेदवारी भएको उल्लेख गर्नुभयो । प्रदेशसभातर्फ क्षेत्र नं ३ (१) का उम्मेदवार शारदा पौडेलले भ्रष्टाचारलाई जरैदेखि उखेलेर देशमा सुशासन र समृद्धि कायम गराउन काँग्रेसलाई जिताउनुपर्ने जिकिर गर्नुभयो ।
प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार आनन्दराज मुल्मीले आर्थिक समृद्धिसहितको विकासको स्पष्ट आधार तय गर्न नेपाली काँग्रेसलाई जनताले रोज्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा काँगे्रस नेत्री मीना पाण्डे, क्षेत्रीय सहसचिव गोविन्दबहादुर गुरुङ, शिव श्रेष्ठ लगायतले काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।
समाज रुपान्तरणका लागि कम्युनिष्ट सरकार – पूर्वमन्त्री अधिकारी
यसैबीच, नेकपा (एमाले)का नेता, पूर्व स्वास्थ्यमन्त्री एवं वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले समाज रुपान्तरणका लागि नेपालमा कम्युनिष्ट सरकार बन्नुपर्ने बताउनुभएको छ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपाल क्षेत्र नं १, कास्कीको लेखनाथमा आज आयोजित संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले युवा स्वरोजगार, सामाजिक सुरक्षा भत्ता, ‘आफ्नो गाउँ आफैँ बनाउँ’ अभियान र ‘उज्यालो नेपाल’ जस्ता कार्यक्रम लागू गर्न कम्युनिष्ट सरकारको विकल्प नरहेको धारणा राख्नुभयो ।
कास्कीमा भएका तालको संरक्षण र व्यवस्थित बस्ती विकास र बेरोजगारीको अन्त्य यस क्षेत्रको पहिलो आवश्यकता भएकोमा उहाँको जोड थियो । प्रदेशसभा कास्की क्षेत्र नं १ (क) उम्मेदवार दीपक कोइरालाले मुलुकको दिगो विकास वाम गठबन्धनबाट बन्ने सरकारबाट मात्र सम्भव हुने बताउनुभयो । युवा संघ, कास्की क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष रामचन्द्र तिमिल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा समानुपातिक तर्फकी उम्मेदवार गायत्री गुरुङ, युवा संघका अध्यक्ष विष्णु पुन लगायतका वक्ताले वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभएको थियो ।
रासस