२७ कात्तिक , काठमाडौँ – नेपाली युवा क्रिकेट टिमले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । आइतबार मलेसियामा भएको एसीसी यू–१९ एसिया कपअन्तर्गतको आफ्नो दोस्रो खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शनको मद्दतमा तीनपटकको च्याम्पियन भारतलाई १९ रनले पराजित गरिएको हो । पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । कुनै पनि उमेर समूहको खेलमा नेपालले भारतलाई हराएको यो पहिलोपटक हो ।
जितपछि नेपाल एसिया कपको समूह ‘ए’को अंक तालिकाको दोस्रो स्थानमा छ । रन रेटका आधारमा भारत समूहको शीर्ष स्थानमा छ । दुई खेलबाट नेपालले २ अंक जोडेको हो । नेपालले अब आयोजक मलेसियासँग खेल्नेछ । भारतलाई पराजित गरेसँगै नेपालको सेमिफाइनल यात्रा सहज बनेको छ । मलेसियाविरुद्ध मंगलबारको खेलमा नेपालले जित निकाल्न सकेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विजेता र उपविजेता टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रशिक्षक विनोद दासले युवा टिमको मिहिनेतका कारण भारतविरुद्ध जित सम्भव भएको बताए । उनले कप्तान ऐरीको प्रशंसा गर्दै भने, ‘कप्तान ऐरीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरे । उनको प्रदर्शनबाट म खुसी छु ।’
नेपालको जितमा कप्तान ऐरीले महत्वपूर्ण योगदान दिए । उनले ब्याटिङतर्फ ८८ रनको योगदान दिए भने भारतलाई सस्तैमा समेट्ने क्रममा ४ विकेट लिए ।
यो खबर आजको राजधानी दैनिकमा छ ।