२८ कात्तिक , काठमाडौँ – नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा सो पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई तोकिनुभएको छ ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक सूचना सम्पे्रषन र सञ्चार समन्वयका लागि रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित परिचालन कमिटीको आजको बैठकले नेता रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
बैठकले निर्वाचनका क्रममा समन्वय गर्न विभिन्न नेतालाई पनि जिम्मेवारी तोकेको छ । निर्वाचन आयोगतर्फ पोलिटब्यूरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ केन्द्रीय सदस्य युवराज कार्कीलाई जिम्मेवारी तोकेको छ ।
त्यसैगरी बैठकले प्रेस चौतारी नेपालका अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग सदस्य गणेश बस्नेतलाई परिचालन कमिटी सदस्यमा थप गरेको छ ।
बैठकले सबै निर्वाचन क्षेत्रमा हुनसक्ने सम्भावित घटनाप्रति चनाखो रहँदै जनतालाई भ्रमित पार्ने प्रकारका गतिविधिप्रति सचेत रहन कार्यकर्तामा आह्वान गर्दै विभिन्न जिल्लामा भइरहेको आक्रमण र निर्वाचन आचारसंहिता विपरीतका कामप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको जनाएकोछ ।
रासस