२९ कात्तिक , दाङ (देउखुरी) – दाङ क्षेत्र नम्बर १ र त्यसअन्तर्गत प्रदेशसभा १ का उम्मेदवाले कोइलाबास नाकालाई सञ्चालनमा ल्याई निर्यात बढाउने मुद्दालाई प्राथमिकताका साथ अघि सारेका छन् । उनीहरूले गढवामा आयोजित सभामार्फत यो मुद्दा सार्वजनिक गरेका हुन् ।
दाङ क्षेत्र नम्बर १ का वाम उम्मेदवार मेटमणि चौधरीले अब कोइलाबास नाका नयाँ ढङ्गले सञ्चालनमा आउने बताउनुभयो । कोइलाबास नाका, नाका क्षेत्रको विकास, राप्ती नदीको तटबन्धलगायतका योजना आफूहरूको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।
राप्ती पारिका जनताले छुट्टै ठाउको जस्तो अनुभूति गर्ने अवस्था अब नरहने उहाँले बताउनुभयो । त्यस्तै प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रजित चौधरीले कोइलाबास नाकाबाट आयात भन्दा निर्यात बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दाङको देउखुरी क्षेत्रको कृषि उत्पादन बढाएर निर्यातमुखी विकास गराउने बताउनुभयो । कोइलाबास भन्सार सुचारु गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
देउखुरीलाई कृषिको उर्वर भूमिका रूपमा विकास गर्ने, कोइलाबास–लमही हुलाकी सडक, कालाकाँटे सिक्टा हुँदै नेपालगञ्ज जोड्ने सडकको स्तरन्नोति आदिमा उहाँले जोड दिनुभयो ।
यो खबर आजको गोरखापत्रमा छ ।