२९ कात्तिक , ललितपुर – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै ललितपुरको क्षेत्र नं ३ मा चुनाबी चहल–पहल ह्वातै बढेको छ ।
प्रमुख राजनीतिक दलले घरदैलो कार्यक्रममार्फत मत माग्न आम मतदाताको घर–आँगनमा पुग्न थालेका छन् । वाम गठबन्धनले बिहीबारबाट र नेपाली काँग्रेसले कात्तिक २५ गतेबाट घरदैलो कार्यक्रम शुरु गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवैमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेसबाट जिल्ला सभापति मदनबहादुर अमात्य प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । उहाँ दोस्रो संविधानसभामा यस क्षेत्रबाट विजयी हुनुभएको थियो । वाम गठबन्धनबाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल उम्मेदवार हुनुहुन्छ । उहाँ पहिलो संविधानसभामा यस क्षेत्रबाट विजयी हुनुभएको थियो । दोस्रो संविधानसभामा आफू ठूलो मत अन्तरले विजयी भएको हुँदा आफ्नो जीत सुनिश्चिित रहेको दावी अमात्यको छ । दोस्रो संविधानसभा निर्वाचनमा सहभागी नहुनुभएको भुुसाल पहिलो संविधानसभामा पाएको जित फर्काउने दाउमा हुनुहुन्छ ।
काँग्रेसबाट क्षेत्र नं ३ को प्रदेश ९क० मा नवराज महत र ९ख० मा शिवराम बानिया प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । वाम गठबन्धनबाट प्रदेश ९क० मा एमालेका जीवन खड्का र ९ख० मा माओवादी केन्द्रका राजकाजी महर्जन उम्मेदवार हुनुहुन्छ । यसअघिका निर्वाचनका आधारमा ललितपुर–३ मा कडा प्रतिस्पर्धा हनसक्ने देखिएको स्थानीय मतदाता बताउँछन् ।
२०४८ सालको आमनिर्वाचन यता यस क्षेत्रमा सबै दलले जित हासिल गरिसकेका छन् । २०४८ र २०५६ सालको आमनिर्वाचनमा नेकपा एमाले विजयी भएको यो क्षेत्रमा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीले ठूलो मतअन्तरले विजयी भयो भने दोश्रो संविधानसभामा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा गोदावरीको १२ र १४ गरी दुईवटा वडा र महानगरपालिकाको ६ वटा वडामा नेपाली काँग्रेसका वडाध्यक्ष विजयी भएका थिए । महानगरपालिकाका ११ वटा वडामा एमाले र चारवटा वडामा वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । आफू संविधानसभा–२ मा जस्तै ठूलो अन्तरले विजयी हुने अमात्यले बताउनुभयो । आफूले यस क्षेत्रको प्रतिनिधि भएर चार वर्षमा गरेका काम नै जित्ने आधार भएको उहाँको दाबी छ ।
उम्मेदवार अमात्यले भन्नुभयो, “संविधानसभामा यहाँका मतदाताले संविधान बनाउन आफूलाई पठाउनुभएकोमा त्यो काम पूरा भयो, अब विकासमा लाग्ने प्रतिबद्धता लिएर मतदातासम्म जाँदैछु ।” आफ्नो इमानदारिता, लगनशीलता र राष्ट्रवादले गर्दा जित्ने उहाँको दाबी छ ।
यस क्षेत्रका सबै तिरको साझा समस्या पानीको अभाव छ । धारा वितरण गर्न बाँकी रहेको र धारा भएका ठाउँमा समेत पानी नआउँदा स्थानीयवासी पानी अभाव भोग्न बाध्य छन्, उहाँ भन्नुहुन्छ, “आगामी पाँच वर्षमा पानीको समस्या सधैँका लागि हल गर्ने मसँग योजना छ ।”
नगरको भित्री भागमा सम्पदाको संरक्षण, युवाका लागि रोजगारी, सामुदायिक र निजी शिक्षाको अन्तर लगायतका समस्या छन् । भूकम्पले क्षतिग्रस्त भएका निजी घर र सम्पदाको पुनः निर्माणका लागि लाग्ने प्रतिबद्धता अमात्यले व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्यका अर्का उम्मेदवार भुसाल वाम गठबन्धन बलियो हुनु नै जितको प्रमुख आधार भएको बताउनुहुन्छ । दोस्रो संविधानसभामा माओवादी विभाजित थियो । अहिले माओवादी बलियो भएको र एमालेसँगको गठबन्धनका कारण जित्ने उहाँको दाबी छ । अहिलेसम्म राजनीतिक परिवर्तनका लागि लडेको र आगामी दिनमा आर्थिक समृद्धिका लागि लड्ने उहाँ बताउनुहुन्छ ।
यो क्षेत्र कला र सम्पदाले भरिपूर्ण भएकाले पर्यटनको विकास गरेर भौतिक पूर्वाधार, उद्योग, व्यवसाय, रोजगारी सिर्जना गरी आर्थिक समृद्धि ल्याउने भुसालको दाबी छ । यस क्षेत्रलाई संस्कृतिको राजधानी बनाउने आफ्नो योजना छ, उहाँ भन्नुहुन्छ, “हस्तकला, काष्ठकला, मूर्तिकलाको अझै विकास गरेर कला र संस्कृतिलाई विकासको आधार बनाउने योजना ल्याएको छु ।”
आफू ३८ वर्षदेखि ललितपुरमा बसेकाले यहाँको समस्या र सम्भावना दुवै देखेको बताउँदै उहाँले यस क्षेत्रमा रहेका नदीहरु ढलरहित गराउने र सडक कालोपत्र गराउने योजना आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उम्मेदवार भूसालले सुनाकोठी र खोकनाको सिकाली चौरलगायतका स्थानमा पार्क बनाउँदा युवायुवतीदेखि ज्येष्ठ नागरिकलाई समय कटाउन सहज हुनेछ भन्दै महिलामा स्तन, पाठेघर लगायतका क्यान्सर बढी पाइएकाले यस सम्बन्धी उपचारको व्यवस्था पाटन अस्पताल गर्ने आफ्नो योजना रहेको उहाँले जानकारी गराउनुभयो ।
क्षेत्र नं ३ मा महानगरपालिकाको २० वटा वडा र गोदावरी नगरपालिकाको दुईवटा वडा पर्दछ ।
रासस