३० कात्तिक , दाङ – आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दाङमा लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ ।
आगामी निर्वाचनका लागि दाङमा राप्रपा र राप्रपा प्रजातान्त्रिक पनि नेपाली काँग्रेससँग सहकार्य गरेर जाने भएपछि लोकतान्त्रिक गठबन्धन भएको हो ।
बुधबार घोराहीमा बसेको तीन दलको बैठकले निर्वाचनमा काँग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच सहकार्य गरेर जाने निर्णय भएको छ । काँग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकका जिल्लास्तरका नेतृत्वबीचको बैठकले लोकतान्त्रिक शक्तिलाई विजयी बनाउनका लागि निर्वाचनमा सँगै जाने निर्णय गरेको नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष नरेशजंग रानालगायत नेताको सहभागिता रहेको बैठकले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको पक्षमा जिल्लामा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
जसका लागि आफ्नो पार्टीका संघसंस्था एवं भ्रातृ संस्थालाई सहकार्यबारे जानकारी गराएर सबै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनतर्फ लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गर्ने निर्णय भएको छ ।
रासस