३० कात्तिक , वालिङ, स्याङ्जा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनले नेपालको इतिहासमा यस पटक दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ ।
स्याङ्जाको वालिङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वामपन्थीको गठबन्धनबाट नेपाली काँग्रेस डराएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले चितवनमा आफू लडेको क्षेत्रका विक्रम पाण्डेलाई सहयोग गरेर गिरिजाप्रसाद कोइराला र आफूले देशलाई दिन खोजेको निकासका विषयमा काँग्रेस अहिले भुलेको दुःखेसो गर्दै बाह्रबुँदे सहमतिमा हस्ताक्षर गर्दा सबै मिलेर देखेको सपना पूरा नहुने देखेपछि वाम गठबन्धन गरिएको बताउनुभयो ।
“नेपाली काँग्रेसले अहिलेसम्म वामपन्थीलाई फुटाएर फाइदा उठायो” उहाँले भन्नुभयो, “अब वामपन्थीको गठबन्धनसँगै नेपाली काँग्रेसका दिन समाप्त भए ।”
वामपन्थीको स्थायी सरकार–अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनपछि वाम गठबन्धनले देशैभर विजयी प्राप्त गरी स्थायी सरकार बनाउने बताउनुभयो ।
सोही चुनावीसभामा उहाँले अब वामपन्थीको बहुमतको सरकार बनेपछि देश विकासको बाटोमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“नेकपा एमाले र माओवादी केन्द्रबीच अहिले वाम गठबन्धन भएको छ, यो निर्वाचनसम्म रहने र त्यसपछि दुई पार्टी नै एकीकरण हुने गरी अघि बढेका छौं” उहाँले भन्नुभयो, “दुई पार्टीको गठबन्धनले देशभर विजयी प्राप्त गर्ने भएकाले अब दिपावली मनाउन सुरु गर्नुहोस् ।”
रासस