३० कात्तिक , नेपालगञ्ज – विवेकशील साझा पार्टीका केन्द्रीय नेताले ठूला राजनीतिक पार्टीका नेताका अलोकतान्त्रिक चरित्रका कारण मुलुकमा बेथिति आएको टिप्पणी गर्नुभएको छ ।
स्थानीय त्रिभुवनचोकमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै त्यस पार्टीका नेताले मुलुकमा लोकतन्त्र आएदेखि अहिलेसम्मको अवधिमा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा देखिएका बेथितिको अन्त्य गर्न विवेकशील साझा पार्टी राजनीतिको मैदानमा आएको स्पष्ट गर्नुभयो ।
जनसभालाई सम्बोधन गर्दै सो पार्टीका नेता मुमाराज खनालले लोकतन्त्रपछि मुलुकको राजनीतिलाई ठूला दलका नेताको विलासी जीवनशैलीले बिगारेको टिप्पणी गर्दैे भन्नुभयो, “नेताहरुका कारण नेपाली समाजमा राजनीति वितृष्णाको विषय बन्यो, लोकतान्त्रिक समाजवादलाई मुलुक बर्बाद गर्ने अस्त्रका रुपमा ठूला दलका नेताले प्रयोग गरे ।” सो जनसभालाई सोही पार्टीका केन्द्रीय तहका नेता गेहेन्द्र दाहाल, डा दिनेश प्रसाईं, बाँके क्षेत्र नं १ प्रदेश (ख) का उम्मेदवार ज्योति परियार र क्षेत्र नं २ (ख) का उम्मेदवार डा विनोद कर्णले पनि सम्बोधन गर्नुभएको थियो ।
रासस