समाचार
खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनीधि सभाका उम्मेदवार अव्दुल रज्जाकले लोकतन्त्रलाई संस्थागत गर्न सकेमात्र मुलुक परिवर्तन हुने बताउनु भएको छ ।
लोकतन्त्र कमजोर भएकाले लोकतन्त्रलाई संस्थागत गर्न सके मात्र मुलुक परिवर्तनको दिशामा उन्मुख हुने बताउनुभयो । रुपन्देहीको क्षेत्रनम्बर एकको देवदह ५ कोे प्रचार प्रसार कार्यालयको बिहीबार उद्घाटन गर्दै उहाँले अहिलेको लडाई भनेको लोकतन्त्रको रक्षाका लागि भएको स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्रलाई जोगाउनका लागि राप्रपा प्रजातान्त्रिकसँगको गठबन्धन बनेको बताउनुभयो ।
उहाँले आफू रुपन्देही क्षेत्रनम्बर एकबाट संविधान सभाको निर्वाचनमा चुनाव जितेसँगै विकास निर्माणका धेरै पुर्वाधारका लागि पहल गरेको स्मरण गराउदै आउने प्रतिनिधि सभाको निर्वाचनमा जितेमा प्रदेश एकलाई नमुना बनाउने समेत बताउनुभयो ।नेपाली काँग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका नेता रज्जाकले गुरुयोजना निर्माण गरी विकासका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सोही कार्यक्रममा क्षेत्र नं १, प्रदेशसभा १ का उम्मेदवार ताहिर अलीले संविधान कार्यान्वयन गर्न नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक वीच लोकतान्त्रिक गठवन्धन गरी निर्वाचनमा होमिएको बताउनु भयो ।काग्रेसका वडा सभापति अर्जुन लम्सालको अध्यक्षता, राजकुमार श्रेष्ठको स्वागत र भेषकुमारी लामिछानेको संचालनमा भएको कार्यक्रममा दुवै पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सोही अवसरमा अर्जुन लम्सालको संयोजकत्व र राजकुमार श्रेष्ठ सहसंयोजक रहेको निर्वाचन प्रसार–प्रसार समिति गठन गरिएको छ ।