०१ मंसिर , इलाम – नेकपा (एमाले) संसदीय दलका उपनेता तथा इलाम क्षेत्र नं २ का उम्मेदवार सुवास नेम्वाङले वाम गठबन्धनका उम्मेदवारमाथि भइरहेको आक्रमण तत्काल रोक्न र उम्मेदवारको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गर्नुभएको छ ।
इलामको इभाङमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सरकार विभिन्न बहानामा निर्वाचन सार्ने दाउमा उद्दत रहेको बताउँदै उम्मेदवारमाथि आक्रमण हुनु निन्दनीय विषय भएको बताउनुभयो ।
निर्वाचनपछि मुलुकमा समृद्धि र विकासको लहर छाउने बताउँदै निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।
मुलुकको ऐतिहासिक संविधान बनाउन आफ्नो अतुलनीय योगदान रहेको उल्लेख गर्दै उहाँले संविधानको सफल कार्यान्वयन भएमा मात्र देशमा स्थिरता कायम हुने विचार व्यक्त गर्नुभयो ।
प्रदेशसभा २ (ख) का उम्मेदवार धीरेन्द्र शर्माले समृद्ध जिल्ला बनाउने अभियानमा आफू कटिबद्ध भएर केन्द्रसम्म पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
रासस