०३ मंसिर , ओखलढुंगा – सदरमुकाम ओखलढुंगामा हिजो नेपाली काँग्रेस र वाम गठबन्धनले बृहत् चुनावीसभा सम्पन्न गरेका छन् ।
दुवै सभामा बृहत् जनसहभागिता र उत्साह देखिन्थ्यो ।
वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्नुभयो भने नेपाली काँग्रेसको चुनावीसभामा पार्टी केन्द्रीय सदस्य तथा प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्नुभयो ।
चुनावीसभालाई सम्बोधन गर्दै एमाले नेता नेपालले भन्नुभयो, “काँग्रेसका लागि अब प्रतिपक्षको कुर्सी खाली छ । देशमा अब वामपन्थीको सरकार बन्ने पक्का छ ।”
नेता नेपालले मुलुकको विकास र समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न जिल्लावासीलाई आग्रह गर्नुभयो । उहाँले थप्नुभयो, “दुई पटक बहुमत ल्याएको काँग्रेसले विकासभन्दा बढी विनाश गरेको छ । लोकतन्त्र र विकासका लागि वामपन्थीसँग स्पष्ट खाका छ ।”
वाम गठबन्धनले यहाँ प्रतिनिधिसभा सदस्यका लागि यज्ञ सुनुवारलाई उम्मेदवार बनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य नारायण शर्माले वाम गठबन्धनका उम्मेदवालाई जिताउन आह्वान गर्दै ओखलढुंगाको विकासमा एमाले र माओवादीका नेता जनताको सारथी भएर काम गर्ने बताउनुभयो ।
लगानी ल्याउने काँग्रेसले हो – खाँण
काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै नेता खाँणले काँग्रेसको तागतले मात्र जनता र लोकतन्त्र बलियो हुन्छ भन्नुभयो । उहाँले लोकतान्त्रिक वातावरण बिथोल्न शान्ति र सद्भाव भत्काउन वाम गठबन्धन लागेको आरोप लगाउनुभयो ।
उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जनमत संग्रह जस्तै भएको हुँदा चुनौतीको सामना गर्दै एक ढिक्का भएर काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
नेता खाँणले भन्नुभयो, “विकासका लागि लगानी ल्याउने काँग्रेसले हो । कम्युनिष्टलाई कसैले पत्याउँदैन ।”
यहाँ लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका उम्मेदवार रामहरि खतिवडा चुनावी मैदानमा छन् ।
ओखलढुंगामा वाम र नेपाली काँग्रेस दुवैबीच निकै प्रतिस्पर्धा हुने देखिन्छ । जिल्लाका विभिन्न ठाउँबाट चुनावीसभामा सहभागी हुन आउने बस तथा जिपलाई लक्ष्य गरी बिहान विष्फोट गराइँदा चुनावीसभामा आउन चाहनेलाई द्विविधामा पारेको थियो । दुवै पार्टीले राष्ट्रिय कलाकार ल्याएर सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
रासस