जेठ २१ गते चितवन ।
साथीभाइहरुसँग पिकनिक खानका लागि गएका दुइ बालिकाको मृत्यु रहस्यमय बनेको छ । माडी नगरपालिका वडा नम्बर – ६ रामराज्यपुर स्थित मजुवा सिंचाइ पोखरीमा २० गते शनिबारका दिन विहान १० वजेको समयमा पिकनिक खान भनी घरबाट गएका बालबालिकाहरु मध्ये सोही स्थान वस्ने माया सुनारकी छोरी वर्ष १० की दिपिका सुनार र दिनेश परियारको छोरी वर्ष ११ की दिपशिला परियारको मृत्युले सवै आश्चर्यमा परेका छन् ।
घटनाको सम्बन्धमा तथ्यगत रुपमा अनुसन्धान गरी घटनामा संलग्नलाई खोजी, पीडित पक्षलाई न्याय महसुस गराउन र कानुनी राज्यको स्थापित गर्न गराउन प्रशासन समक्ष मानव अधिकारकर्मीहरुले आइतबार दबाब दिएका छन् ।
साथै पछिल्लो समय चितवनमा बालबालिकाहरु बाल यौन दुव्र्यबहार, बलत्कार, बलत्कारप्रयास, वेचविखन जस्ता गम्भीर अपराधको शिकार भइरहेको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको अधिकारकर्मीहरुको भनाइ छ ।
बालिकालाई न्यायको माग गर्दै आइतबार १९ जना अधिकारकर्मीले संयुक्त रुपम प्रेस विज्ञप्ती जारी गरेका छन् । विज्ञप्ती जारी गर्नेमा अखिल नेपाल महिला संघ, क्रान्तिकारीकी केन्द्रिय महासचिव अम्बिका मुडभरी, अखिल नेपाल महिला संघ, चितवन अध्यक्ष सरस्वती विष्ट, आदर्श नारी विकास केन्द्रकी निमित्त अध्यक्ष मीना खरेल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष गीता लम्साल, संयुक्त दलित अधिकार मंच उपाध्यक्ष सोचना वि.क , मञ्जुश्री असहाय संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँण, नेफ्स्कुन संचालक समितिकी शान्ति अधिकारी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारी लगायतका रहेका छन् ।
अखिल नेपाल महिला संघ, क्रान्तिकारी उपाध्यक्ष शर्मिला विक, सविता गुरुङ (पुन) स्मृति प्रतिष्ठानकी उर्मिला पन्त, नेपाल नारी चेतनशील संघकी सचिव सरस्वती पोखरेल, महिला शसक्तिकरण तथा परिवर्तनशील संस्थाकी दिलमाया बुढाथोकी, के.आइ नेपालकी केमिका घिमिरे, सहिद स्मृति प्रतिष्ठान, नेपालकी कोषाध्यक्ष सविता लामा, नवदुर्गा राप्रावि लक्ष्मीवास, माडीका प्रअ लीलानाथ शर्मा, प्रभात दिदीबहिनी, साकोस महेश्वरी थापा, नेपाल राष्टिय दलित मुक्ति मोर्चा शान्ति विकले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
- #रेडियो नारायणी