०५ मंसिर , बाँके – आ–आफ्ना एजेन्डा लिएर उम्मेदवार र राजनीतिक दलका नेताहरू गाउँगाउँमा पुगिसकेका छन् । गाउँ र टोलमा उम्मेदवारका फोटोसहितका पर्चा, पम्प्लेट यत्रतत्र देख्न सकिन्छ । तर, मतदान गर्ने विषयमा नै मतदाता अन्योलमा छन् ।
उम्मेदवार र राजनीतिक दलका नेताहरू भोट माग्न आए पनि कसरी मदान गर्ने भन्ने विषयमै आफू जानकार नरहेको राप्ती–सोनारी गाउँपालिका–६ की विद्या गुरुङले बताइन् ।
उनले ३ वटा मतपत्र भएको विषयमा जानकारी भए पनि मत पत्रमा स्वस्तिक छाप कसरी लगाउने र मतपेटिकामा भोट कसरी खसाल्ने विषयमा अन्योल रहेको बताइन् ।
उनले अहिलेसम्म मतदाता शिक्षाका लागि स्वयंसेवकहरू गाउँमा नआएको बताइन् । ‘तीनवटा मतपत्र छ भन्छन् । अहिलेसम्म मतपत्र देखेको छैन ।स्वस्तिक छाप कसरी लगाउने र मतपेटिकामा पतपत्र कसरी खसाल्ने जानकारी छैन,’ उनले भनिन् ।
मतपत्रबारे कुनै जानकारी नभएको डुडुवा गाउँपालिका–१, खडैचाका राजकुमार शुक्लाले बताए । उनले मतदाता शिक्षाका लागि गाउँमा कोही नआएकाले गाउँका धेरैजसोलाई मतदान र मतपत्रबारे जानकारी नभएको बताए ।
‘पहिलेको निर्वाचनमा भएको मतपत्रजस्तै अहिले पनि होला भन्ने लागेको छ,’ उनले भने ।
गाउँमा मतदाता शिक्षा दिने स्वयंसेवकहरू खटिएको भन्ने सुने पनि अहिलेसम्म नदेखेको बताए । ‘प्रत्येक क्षेत्रको मतपत्र फरक हुन्छ भन्ने हल्ला त सुनेको छु । तर, कस्तो मतपत्र छ भन्ने अहिलेसम्म जानकारी पाएको छैन,’ बाढीपीडित संघर्ष समितिका सचिवसमेत रहेका शुक्लाले भने ।
निर्वाचनमा होमिएका उम्मेदवारका संख्याको आधारमा प्रत्येक प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रको मतपत्र फरक हुने भएको छ ।
उम्मेदवार नउठेका राजनीतिक दलको चुनाव चिह्न नहुने भएकाले सर्वसाधारण मतदातालाई मतपत्रबारे समयमै नसिकाउने हो भने मतदाता अन्योलमा पर्ने बैजनाथ गाउँपालिका–५, वनकटवाकी यमुना तिमिल्सिनाले बताइन् ।
उनले मतदाता शिक्षा हरेक मतदातालाई आवश्यक भएको बताइन् । ‘पहिलेभन्दा यसपालिको मतपत्र एकदमै फरक छ, क्षेत्रअनुसार फरक मतपत्र हुने भएकाले धेरै मतदाता झुक्किने सम्भावना छ । मत बदर घटाउन हरेक मतदातालाई जानकारी गराउनुपर्छ,’ उनले भनिन् ।
३२७ जना स्वयंसेवक परिचालन
मतदाता शिक्षाका लागि गाउँ–गाउँमा स्वयंसेवक परिचालन गरिएको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख वसन्त अधिकारीले बताए । उनले प्रत्येक मतदान केन्द्रमा एकजनाका दरले बाँकेमा ३२७ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको बताए ।
मतदाता शिक्षा स्वयंसेवक वा निर्वाचन शिक्षा कार्यकर्ताले आफ्नो केन्द्रअन्तर्गतका गाउँ र टोलमा मतदाता शिक्षा सञ्चालन गर्ने बताए ।
उनले स्वयंसेवकहरू घर–घरमा गएर मतदाता शिक्षा दिने बताए । ‘कसैलाई नछुटाउने गरी मतपत्र, मतदान प्रक्रिया र मतपेटिकाबारे जानकारी दिन स्वयंसेवक खटाएका छौँ,’ उनले भने ।
बाँकेमा २५ कात्तिकतेदेखि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । ती स्वयंसेवकले मौन अवधिअघिसम्म मतदाता शिक्षा सञ्चालन गर्ने र मतदानका वेला मतदान अधिकृतलाई सहयोग गर्ने अधिकारीले बताए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।