०७ मंसिर , बारा, सिमरा – जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलका नेताले महिलालाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा टिकट नदिएका कारण महिला नेत्री रुष्ट बनेका छन् ।दलहरुले आफैँले बनाएको घोषणापत्रमा मात्र नभई संविधानले नै महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि दलले महिलालाई टिकट नदिई संविधानको मर्म र भावनामाथि नै प्रश्न चिह्न खडा गरेको पूर्व भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवानले बताउनुभयो ।
निर्वाचमा महिलाको प्रतिनिधित्व नगराउँदा अहिले पनि पुरुषले उनीहरूलाई चुलोचौकामा मात्र सीमित राख्ने सोच बनाएको संकेत गर्ने निर्वाचन क्षेत्र नं १ को नेपाली काँग्रेसको महाअधिवेशन प्रतिनिधि नजबुन बढइ उल्लेख गर्नुहुन्छ । महिलालाई अल्झाएर प्रयोगको साधनमात्र बनाउन खोजेको र पार्टीहरु नीति नियमअनुसार सञ्चालन हुन नसक्नु अर्को कारण पनि भएको नेत्री बढइको धारणा छ । निर्वाचन क्षेत्र नं ४ मा ठूला तीन पार्टीका सक्षम महिला नेत्री रहेकामा खासगरी नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभामा महिलालाई सो क्षेत्रबाट टिकट दिएका छैनन।
रासस