१० मंसिर , काठमाडौँ – प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणअन्तर्गत आज ३२ जिल्लामा मतदान हुँदै छ । निर्वाचनबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सदस्य निर्वाचित हुँदै छन् ।
३ असोज ०७२ मा जारी संघीयता र गणतन्त्रसहितको संविधान कार्यान्वयन र संस्थागत विकासको पहिलो खुट्किलोका रूपमा निर्वाचन हुन लागेको हो । यो निर्वाचन सम्पन्नपछि ११ वर्ष लामो राजनीतिक संक्रमण अन्त्य हुनेछ ।
स्थानीय तह र केन्द्रीय सरकारको समन्वयकारी भूमिकामा रहने प्रदेश सभामा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रिपरिषद्लगायत हुनेछन् । ००४ मा ‘काठमाडौं म्युनिसिपालिटी’को निर्वाचन भएको थियो । काठमाडौंको विकासका लागि स्थानीयस्तरमा भएको यो निर्वाचन नै नेपालमा भएको पहिलो निर्वाचन थियो ।
२१ मंसिरमा मतगणना
१० मंसिरमा ३२ जिल्लामा मतदान भए पनि मतगणना भने २१ मंसिर साँझ ५ बजेबाट मात्रै सुरु हुनेछ । पहिलो चरणमा हुने ती जिल्लाका मतपेटिका सुरक्षित राखिने र दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
संविधान कार्यान्वयनको पहिलो खुट्किलो
प्रदेश र प्रतिनिधिसभा निर्वाचन ३ असोज ०७२ मा जारी संविधानअनुसार संघीयता र गणतन्त्र कार्यान्वयनको पहिलो खुड्किलो हो । २८ चैत ०६४ को संविधानसभा निर्वाचनपछि गठन भएको संविधानसभाले संविधान जारी गर्न सकेन र राजनीति संक्रमणकाल लम्बियो । ४ मंसिर ०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो । सभाले ३ असोज ०७२ मा संविधान जारी ग¥यो ।
निर्वाचनपछि ११ वर्षको संक्रमणको अन्त्य
प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार बन्नेछ । त्यससँगै नेपालमा ११ वर्ष लामो राजनीतिक संक्रमणको अन्त्य हुनेछ । एक प्रकारले राजनीतिक मुद्दा किनारा लाग्नेछन् ।
०६३ मा तत्कालीन माओवादी सशस्त्र युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि राजनीतिक संक्रमण सुरु भएको थियो ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।