१२ मंसिर , पाल्पा – पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै टुकीको भरमा रात बिताउन बाध्य छन् ।
गरिबीको कारण कुमाल बस्तीका १० घरपरिवारमा अझैसम्म टुकीको भरमा रात बिताउनुपर्ने बाध्यता छ । छोराछोरीलाई टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रश्वास समस्या हुने गरेको छ ।
घोरबन्दाकी ज्ञानीसरा कुमालले पोल टाढा रहेकाले २०० मिटर तार ल्याउन, विद्युत्का सामान, विद्युत्को वाइरिङका लागि खर्च जुटाउन नसक्दा घरमा बिजुली बाल्न नसकेको बताए ।
“अरुको घरमा बिजुली बलेको हेर्छु । तानसेनमा बल्छ, आफ्नो घरमा यो जुनीमा बिजुली नबल्ने नै भयो, अर्को जुनीमा बिजुली बल्ला”, कुमालले गुनासो पोखे ।
सदरमुकाम तानसेनसँग जोडिएको यो बस्ती रहे पनि आर्थिकरुपमा विपन्न भएकाले माछा मारेर उनीहरुले जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ ।
श्रीमान् बिरामीले ग्रस्त बनेको ज्ञानीसराका दुई छोरा, एक छोरी, श्रीमान्–श्रीमती गरी पाँचजनाको परिवारको लालनपालन र शिक्षादीक्षाका लागि खर्च जुटाउन समस्या भएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका नेकपा ९एमाले०का उम्मेदवार सोमप्रसाद पाण्डेय र नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले टुकीरहित जिल्ला बनाउने प्रतिबद्धता गरेका छन् । निर्वाचनपछि यो कुमाल बस्तीमा विद्युत् बल्छ कि भन्ने चासोको विषय बनेको छ ।
रासस