१३ मंसिर , काठमाडौँ – नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आइरहेका बेला उम्मेदवार केन्द्रित आक्रमण र विस्फोटलगायतका घटना रोक्न सरकारलाई आग्रह गरेको छ।
एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति जारी गर्दै निर्वाचन नजिक आइरहेका बेला उम्मेदवारमाथि हुने आक्रमणका घटनाको निन्दा र भत्र्सना गर्दै लोकतन्त्र विरोधी र आतंकपूर्ण क्रियाकलाप रोक्न सरकारलाई आग्रह गरेका छन्।
साथै विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्था कडा पार्दै भयरहित वातावरणमा चुनाव प्रचारप्रसार र मतदान हुन्छ भन्ने अनुभूति जनतामा गराउन सरकारसँग आग्रह गरिएको छ।
पटक–पटक शान्ति सुरक्षाको प्रत्याभूति गर्न हामीले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै विज्ञप्तिमा केही दिनयता सुरक्षाकर्मीको ज्यानै जाने र उम्मेदवार आफैँ घाइते बन्नेजस्ता अत्यन्तै दुःखद् घटना घट्न पुगेको बताइएको छ।
एमालेले सरकारले उम्मेदवारलगायत निर्वाचन सुरक्षा व्यवस्थामा उचित ध्यान दिन नसक्दा यस्ता दुःखद् घटना घटनुका साथै जनतालाई आतंकित पार्ने क्रियाकलाप बढिरहेको जनाएको छ।
रासस