१७ मंसिर , काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन र विकास निर्माणका लागि कांग्रेसले जित्नुपर्ने बताएका छन् ।
पहिलो संविधानसभामा कम्युनिस्टहरूले दुईतिहाइ मत ल्याउँदा पनि संविधान बनाउन नसकेको तर, कांग्रेस पहिलो पार्टी बन्दा संविधान बनेको तर्क गर्दै सिंहले अबको निर्वाचनमा कांग्रेस जित्नुपर्ने बताए ।
‘जनताले कम्युनिस्टलाई पहिलो संविधानसभामा दुईतिहाइ मत दिएकै हुन् । तर, उनीहरूले संविधान बनाउन सकेनन् ।
बरु उल्टै विघटन गराए’ ललितपुर क्षेत्र नम्बर १ को चापागाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सिंहले भने, ‘दोस्रो संविधानसभामा कांग्रेस जितेपछि संविधान बन्यो । अब यसको कार्यान्वयन गर्न पनि कांग्रेसले जित्न जरुरी छ ।’
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले कम्युनिस्टले हावादारी सपना बाँडेको भन्दै जनताले महसुस गर्नेगरी काम गर्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरे ।
ललितपुर १ का कांग्रेस उम्मेदवार उदयशमशेर राणाले ०७० सालमा आफूले जितेपछि दक्षिणी ललितपुरमा विकासको लहर आएको बताए ।
‘दोस्रो संविधानसभा निर्वाचनमा जब हामीले जित्यौँ, तब दक्षिण ललितपुरमा विकासले गति लियो,’ उनले भने, ‘अब कान्तिपथलाई पिच गर्ने, गाउँगाउँमा विकास पुर्याउनका लागि पनि कांग्रेसले फेरि जित्नुपर्छ ।’
प्रदेशसभा ‘ख’ का कांग्रेस उम्मेदवार मीनकृष्ण महर्जनले आफ्नो क्षेत्रका १५ वटै वडामा विकास र समृद्धिको लागि निरन्तर पहल गर्ने बताए । उनले भने, ‘म लामो समयदेखि यही क्षेत्रमा सामाजिक काम गर्दै आएँ । यही जन्मे, हुर्के । यसपटक उम्मेदवार बनेको छु । मैले जित्दा जनताको घरघरमा पुगेर विकासका लागि काम गर्छु ।’
प्रदेशसभा ‘क’का उम्मेदवार ऋषिराम घिमिरेले पनि दक्षिण ललितपुरको थप विकासको लागि कांग्रेसले जित्न जरुरी रहेको बताए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।