१९ मंसिर , बुटवल – प्रतिनिधिसभा र प्रदेशसभाका लागि यही मंसिर २१ गते हुने निर्वाचनको रुपन्देहीमा सबै तयारी पूरा भएको छ । जिल्लामा २०८ मतदान केन्द्रका ५९८ मतदान स्थल तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा आठ कर्मचारी र चारजना स्वयसेंवक खटाइएको जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी गोपाल अर्यालले बताए ।
उनका अनुसार मतपेटिका, स्वस्तिक छाप, शील, स्टेस्नरीलगायत सबै सामग्री केन्द्रमा पुगिसकेका छन् । मतदानका लागि कालो र सेतो गरी दुई प्रकारका मतपेटिकाको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार आज र भोलि नयाँ मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट नै परिचयपत्र वितरणको व्यवस्था गरिएको छ । अन्य मतदाताले यसअघि स्थानीय निकाय निर्वाचनमा वितरण गरिएको परिचयपत्रका आधार मदतान गर्न सक्नेछन् ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी एक हजार ६६३, सशस्त्र प्रहरी एक हजार ४८ , नेपाली सेना ९००, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी दुई हजार ३७८ गरी करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।
उनले जिल्लाका प्रतिनिधिसभा सदस्य पाँच र १० प्रदेशसभा सदस्यका लागि २०८ तोकिएका मतदानस्थलमध्ये सुरक्षका दृष्टिकोणले ७५ अति संवेदनशील, ४५ संवेदनशील र ८८ मतदान स्थल सामान्य रहेको र सोही अनुरुप जिल्लाको सुरक्षालगायत निर्वाचनको व्यवस्थापन गरिएको बताए । जिल्लामा प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १० निर्वाचन क्षेत्र छन् । जिल्लामा पाँच लाख २२ हजार ६०२ जना मतदाता छन् ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गरी नेपाल–भारत सीमा नाका गत मध्यरातिबाट बन्द गरिएको छ । नेपाल तथा भारत दुवै देशका सीमा क्षेत्रका उच्च सरकारी अधिकारीको संयुक्त बैठकको निर्णयअनुसार सीमानाका ७२ घण्टासम्मका लागि बन्द गरिएको सहायक प्रजिअ रेग्मीले जानकारी दिए । उनले जिल्लामा सुरक्षाका दृष्टिले कुनै समस्या नभएकाले ढुक्कसंग मतदान गर्न आग्रह गरे ।
रासस