२४ मंसिर , गोरखा – गोरखा–२ प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि गोरखामा आज आयोजित विजय सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मतदातालाई धन्यबाद दिँदै आफू जनताको सेवक भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “म सम्पूर्ण गोरखाली दाजुभाइ तथा दिदीबहिनीमा आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुले मलाई तेस्रोपटक गोरखा जिल्लाको प्रतिनिधित्व गर्ने अवसर दिनुभएको छ । म आफ्नो बुद्धिले भ्याएसम्म निष्ठापूर्वक, इमान्दारितापूर्वक जनताको सेवामा लाग्नेछु ।”
जनताको प्रतिनिधि सेवक हुन्छ मालिक हुँदैन भन्दै भट्टराईले गोरखावासीको सेवकका रुपमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधान कार्यान्वयन गर्न ऐन, कानून बनाउने, विकास निर्माणको नेतृत्व लिँदै समृद्धितर्फ लैजानेलगायत भूमिका आफ्नो रहेको भट्टराईको भनाइ छ ।
यस्तै भट्टराईले प्रत्येक महिना आफ्नो चुनावी क्षेत्र तथा जनताको घरदैलोमा आउने पुरानो वाचालाई पुनः निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ । “तपाईंहरुको समस्या समाधान गर्न एउटा सम्पर्क कार्यालय खोल्छु, जुनसुकै बेला सम्पर्क हुने हटलाइन टेलिफोन सेवा शुरु गर्छु र जनताको समस्या सुनेर समाधानका लागि पहल गर्छु”, भट्टराईले भन्नुभयो ।
काँग्रेससँगको सहकार्यमा आफू निर्वाचित भएको भन्दै उहाँले यो संसद्को अवधिसम्म काँग्रेससँग सहकार्य गरेर जाने बताउनुभयो । “म नेपाली काँग्रेसलाई विश्वास दिलाउन चाहन्छु कि ढुक्क रहनुहोस्, तपाईंहरुको प्रतिनिधि मै हुँ”, भट्टराईले भन्नुभयो, “कसैलाई पनि काखापाखा गर्नेछैन ।” जुनसुकै सरकार बने पनि गुणका आधारमा सहयोग र दोषका आधारमा असहयोग गर्ने भट्टराईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गोरखाली जनताको शिर निहुरिने गरी मैले कहिल्यै काम गर्नेछैन ।” विजय सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, गोरखा २ (क)बाट विजयी नयाँ शक्तिका नेता हरिशरण आचार्य, गोरखा २ (ख)बाट विजयी काँग्रेस नेता प्रकाशचन्द्र दवाडी, काँग्रेस सभापति हरिबहादुर घलेलगायतले लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाएकामा मतदातालाई धन्यवाद दिएका छन् ।
रासस