२५ मंसिर , सल्यान – प्रदेश नं ६ का मुख्य मन्त्रीका दावेदार नेकपा (एमाले)का पोलिटब्युरो सदस्य प्रकाश ज्वाला सल्यान प्रदेश (ख) बाट विजयी हुनुभएको छ ।
ज्वालाले नेपाली काँग्रेसका डिल्लीराज रेग्मीलाई फराकिलो मतान्तरले हराउनुभएको छ । ज्वालाले १९ हजार ६५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत प्राप्त गर्नुभएको छ ।
जितपछि राससलाई प्रतिक्रिया दिँदै उहाँले अब बन्ने मुख्यमन्त्रीमा आफ्नो पनि दाबी रहेको र पार्टीले आफूलाई दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको बताउनुभयो ।
“सल्यानी जनताले विश्वास गरेर मलाई जिताएका छन्, उहाँहरूको चाहनानुसार रात दिन खटिएर काम गर्न तयार छु”, पूर्वसांसद ज्वालाले भन्नुभयो । ज्वाला २०५६ सालको निर्वाचनमा सल्यान– १ बाट र २०७० सालमा सम्पन्नसंविधानसभा निर्वाचनमा २ बाट विजयी हुनुभएको थियो ।
प्रतिनिधिसभाका लागि भने वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेत ४० हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गर्नुभएको छ । हाल विनाविभागीय मन्त्री बस्नेतको यो लगातार तेस्रो जीत हो ।
यस्तै प्रदेश (क) बाट एमालेका गुलाबजंग शाह १९ हजार ६५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काग्रेसका एकराज डिसीले १० हजार ६१२ मत प्राप्त गर्नुभएको छ ।
रासस