२८ मंसिर , भद्रपुर – ग्रामीण तथा शहरी विकास नेपालले बुधबार झापाको कचनकवल, बाह्रदशी र हल्दिवारीका ४० जना बालबालिकालाई जनही रु पाँच हजारका दरले राहत वितरण गरेको छ ।
युनिसेफको सहयोगमा महिला तथा बालबालिका कार्यालय, झापाको प्राविधिक सहयोगमा सो संस्थाले तीनवटै गाउँपालिका कार्यालयमा गई राहत वितरण गरेको हो ।
बाढी प्रभावित तथा विस्थापित बालबालिका र परिवारलाई हिंसा र शोषणबाट बचाउने प्रभाव न्यूनीकरण परियोजनाअन्तर्गत यो राहत वितरण गरिएको संस्थाकी अध्यक्ष वसन्तलक्ष्मी उदासले जानकारी दिनुभयो ।
संस्थाले झापाका एक नगरपालिका र छ गाउँपालिकामा बाढीबाट पीडित भएका अतिविपन्न तथा विस्थापित १०० जना बालबालिकालाई जनही रु पाँच हजारका दरले राहत वितरण गरेको संस्थाका कार्यक्रम संयोजक पुष्प संग्रौलाले जानकारी दिनुभयो ।
दमकमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले बाढी पीडितलाई तत्काल राहत वितरण गरी मनोसामाजिक सेवा समेत उपलब्ध गराएको थियो ।
संस्थाले आज शिवसताक्षी नगरपालिका, कमल, गौरीगञ्ज गाउँपालिकामा र शुक्रबार झापा गाउँपालिकामा बाँकी ६० जनालाई राहत वितरण गर्ने कार्यक्रम तय गरेको छ ।
रासस