२८ मंसिर , इलाम – नेकपा (एमाले)का नेता तथा सांसद सुवास नेम्वाङले राजनीतिक आस्थाका आधारमा कसैलाई विभेद नगरिने बताएका छन् ।
“तपाईंहरू सबैले मत दिएर हामी विजयी भएका हौँ, को एमाले, को काँग्रेस, को राप्रपा हो, हामी कसैलाई आस्थाका आधारमा विभेद गर्दैनौँ, हाम्रा लागि तपाईंहरू सबै एक हो”, उनले भने । उनले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए ।
इलामको फाकफोकथुम गाउँपालिका–७ स्थित दोकानडाँडामा बुधबार आयोजना गरिएको शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले जनताको समृद्धि र विकासनै हाम्रो लक्ष्य भएकाे बताए ।
नेपाल टेलिकम, विद्युत्लगायत कार्यालयका प्रमुखलाई भेटेर विद्युतीकरण, टेलिकम टावर निर्माणका लागि भनेका छौँ, अब दुरदराजमा फोन, विद्युत् सुविधा पु¥याउन आफू पहल र प्रयासरत रहेको नेता नेम्वाङले बताए । निर्वाचनताका समयमा जनतामाझ गरिएका प्रतिबद्धता पूरा गर्ने समेत उनले बताए ।
यसैबीच, प्रतिनिधिसभातर्फ इलाममा ३.७ प्रतिशत मत बदर भएको छ । कुल दुईलाख चारहजार ४६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ एक लाख ३५ हजार ५२१ मत खसेको छ । यहाँ पाँच हजार १८ मत बदर भएको हो ।
क्षेत्र नं १ मा एक लाख एक हजार ६१ जना मतदाता रहेकोमा ६४ हजार ४७९ मत खसेको थियो । यहाँ दुई हजार ३६५ मत बदर भएको छ । क्षेत्र नं २ मा एक लाख दुई हजार ९८५ मतदाता रहेकोमा ७१ हजार ४२ मत खसेको थियो । यहाँ दुई हजार ६५३ मत बदर भएको छ ।
प्रदेशसभातर्फको मतगणना कार्य जारी रहेकाले प्रदेशसभातर्फ के कति मत बदर भयो भन्ने यकिन तथ्यांक आइनसकेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए ।
रासस