०५ पौष , काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल सत्ता नछोड्ने भएको छ। वाम गठबन्धनका शीर्ष नेताले भने राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिनदबाब गरेका छन्।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री सत्ता हस्तान्तरणको वैधानिक उपायको खोजीमा रहेको अन्नपूर्ण पोस्टलाई बताएका छन्। ‘लोकतान्त्रिक पद्धतिमा सत्ता हस्तान्तरण शालिन र सभ्य–सुकर्म हो। हामीलाई थाहा छ, सत्ता र सरकार कहिल्यै कसैको पनि चिरस्थायी हुँदैन’, बस्नेतले भने, ‘सरकार कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहँदैन। हामी सहज सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजी गरिरहेका छौँ।’
वैधानिक बाटोको नाममा प्रधानमन्त्री देउवा सत्ताबाट बाहिरिनुअघि राष्ट्रिय सभाको भागबण्डा मिलाउने दाउमा अग्रसर भएको कुरालाई प्रवक्ताको भनाइले पुष्टि गरेको छ। एमाले र माओवादीका शीर्ष नेताहरुले देउवाको राजीनामाको माग गर्दै चर्को दबाब दिएपछि सरकारले समसामयिक राजनीतिक जटिलताबारो मंगलबार पत्रकार सम्मेलन गरेरै धारणा सार्वजनिक गरेको हो।
यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।