२२ पौष , काठमाडौँ – सरकारले मापदण्ड पूरा नगरी सञ्चालन भएका ग्यास उद्योगलाई बन्द गर्ने तयारी गरेको छ । ग्यास उद्योगलाई गुणस्तर चिह्न लिन अनिवार्य गरिए पनि एक वर्ष बितिसक्दा अधिकांश उद्योगले गुणस्तर चिह्न नलिएपछि कारवाही गर्न लागिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबारदेखि नै ग्यास उद्योगको अनुगमन गर्ने र मापदण्ड पूरा नगर्ने उद्योगलाई बन्द गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर चिह्न नलिने उद्योगलाई बन्द गर्न लागिएको बताए । महानिर्देशक पुडासैनीले भने, “नियम पालना नगर्ने उद्योगलाई बन्द गर्छौं ।” उद्योगीको लापरवाहीका कारण ग्यास सिलिण्डर बिस्फोटनका घटना बढ्न थालेपछि ग्यास उद्योगलाई कडाइ गरिएको हो ।
ग्यासबाट हुने दुर्घटना नियन्त्रण गर्न गुणस्तर चिह्न अनिवार्य गरे पनि उद्योगीले त्यसको पालना गरेका छैनन् । विभागले ग्यास उद्योगमा गुणस्तर चिह्न (एनएस ५३३) अनिवार्य गरे पनि अहिलेसम्म चारवटा उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । विभागका अनुसार गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास प्रालि, नेपाल ग्यास उद्योग, श्रीकृष्ण ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि छन् । ४९ उद्योगले तोकिएको समयमा मापदण्ड पूरा नगरेकाले कारबाही पर्ने विभागले जानकारी दिएको छ ।
यो खबर आजको कारोबार दैनिकमा छ ।