२२ पौष , भरतपुर – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विषयमा अझै सहमति र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार भरतपुर महानगरको पहिलो नगरसभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले देश अझै सुरक्षित भैनसकेको भन्दै मुख्य दलहरूबीच सहकार्य जरुरी रहेकोमा जोड दिए ।जनताले वाम गठबन्धनलाई विश्वास गरेर मत दिए पनि सबैसँग सहकार्य गरेर मुलुकमा विकासको पूर्वाधार तयार गर्न आफूहरू तयार रहेको अध्यक्ष दाहालले बताए ।
उनले भने, ‘हामी सबैसँग मिलेर मुलुकलाई आर्थिक प्रगतिको दिशामा लैजान तयार छौँ । मिल्नेलाई फुटाउने कोसिस नगरौँ, मिल्नेलाई मिल्न दिऊँ, त्यसैमा नेपालको भलो छ ।’वाम गठबन्धन कसैलाई निषेध गरेर नभई एकताका साथ अघि बढ्ने विश्वास व्यक्त गर्दै दाहालले छिमेकीलाई काखा र पाखा गर्ने कुनै पनि उद्देश्य वाम गठबन्धनको नभएको बताए ।
‘भरतपुर महानगरको नगरसभाले चितवनको समग्र विकासको प्रारम्भिक खाका तयार गर्नेछ,’ उनले भने, ‘चितवनलाई आर्थिक राजधानी र देशभरका महानगरमध्येको नमुना महानगर बनाइनेछ ।’‘नगर्ने कुरा नभन्ने र भनेको कुरा गर्ने’ मुख्य प्रतिबद्धताका साथ भरतपुर महानगरको पहिलो नगरसभा उद्घाटन गरिएको छ । मेयर रेणु दाहालको अध्यक्षतामा नगरसभा भएको हो ।
नगरसभा उद्घाटन समारोहमा मेयर दाहालले नगरसभा आर्थिक वर्षको मध्यमा भएकाले धेरै ठूला योजनाको कार्यान्वयन यस वर्ष सम्भव नहुने बताइन् । उनले भनिन्, ‘यो नीति, कार्यक्रम र बजेट जम्मा ६ महिनाका लागि मात्र हुनेछ ।’
यो खबर आजको नयाँ पत्रिकामा छ ।