२४ पुस, काठमाडौं । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले सोमबार ४ बजेबाट १४ औं आमरण अनसन थालेका थिए ।
आफ्नो अनसनका क्रममा चार वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसी आक्रोसित भएका थिए । अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर उनले अदालतमा न्यायको किनबेच हुने गरेको मात्र दाबी गरेनन्, प्रधानन्यायाधीश पराजुलीलाई माफियाको डनको संज्ञा दिए ।
तर, त्यसको केहीबेरमै डा. केसीविरुद्ध अदालतको मानहानीको मुद्दा मात्र परेन, पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश आयो ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी भोलि विहान ९ बजे उपस्थित गराउन आदेश दियो ।
अदालतको आदेश आएको तीन घन्टापछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डा. केसीलाई अनसन स्थलबाटै उठाएको हो ।
प्रहरीले पक्राउ पूर्जी थमाएपछि त्यसमा हस्ताक्षर गरेका डा. केसी ‘अदालतको फैसलालाई नमान्ने तर, कानुनी प्रक्रियालाई सम्मान गर्ने’ भन्दै प्रहरी टोलीसँगै जान तयार भए ।
डा. केसीलाई पक्राउ गर्न एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो ।
उनलाई अहिले सिंहदरबार बृत्तमा राखिएको छ । पक्राउ गर्नु पूर्व डा. केसीले प्रहरीले जहाँ लैजान्छ, त्यही अनसन बस्ने बताएका थिए ।