१९ माघ , काठमाडौँ – पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलवरपर लागेको बाक्लो तुवाँलोका कारण पाँच दिनदेखि उडान अवरुद्ध भएको छ ।
उडानका लागि भिजिबिलिटी नपुगेकाले उडान अवरुद्ध भएको बुद्ध एयरका कर्मचारी राजीव पोखरेलले जानकारी दिए ।
तुम्लिङटार विमानस्थल विश्वकै होचो अरुण उपत्यकामा पर्छ । वरपरका डाँडामा चिसोले बाक्लो हुस्सु र तुवाँलो लागेपछि उडान हुन नसकेको हो ।
हवाईजहाज उडान र अवतरण हुनका लागि पाँच हजार मिटरको भिजिबिलिटी खुला हुनुपर्छ भने उपत्यकावरपरका डाँडाकाँडा खुला हुनुपर्ने पोखरेलले बताए ।
भुइँकुहिरोले एक मिटर पनि देखिँदैन
माघ दोस्रो सातादेखि संखुवासभामा चिसो बढेको छ । चिसोसँगै भुइँकुहिरो र बाक्लो तुवाँलो लागेकाले तुम्लिङटारमा एक मिटर पनि राम्ररी देख्न नसकिने गरी बाक्लो तुवाँलो लागेको स्थानीयको भनाइ छ ।
उडान नभएपछि जहाजबाट काठमाडौं र विराटनगर जाने यात्रु अलपत्र परेका छन् । कतिपय यात्रु गाडीबाट विराटनगर र काठमाडाैँ लागेका छन् । कच्ची सडक धुलाम्मे जानुपर्ने भएकाले कतिपय यात्रु भने जहाज नै पर्खिएर बसेका छन् ।
हिँड्न सक्ने नागरिकका लागि गाडीको यात्रा सहज भए पनि बिरामी र असक्तको बिजोग भएको छ । खाँदबारीदेखि धरान, विराटनगरसम्म धुलाम्मे कच्ची सडकमा स्वास्थ मानिस चढ्ने हो भने त धरान पुग्दा बिरामी पर्छ ।
कहिले घाम लाग्ला र मौसम खुला होला भनेर यात्रु पर्खिएर बसेका छन् । तुम्लिङटार विमानस्थलवरपरका तुवाँलो हट्न पानी नै पर्नुपर्ने वा तीव्रगतिमा बतास चल्नुपर्ने पोखरेलको भनाइ छ । संखुवासभामा कात्तिकदेखि नै पानी परेको छैन ।
संखुवासभा र छिमेकी भोजपुर जिल्लाको आधाभन्दा धेरै भागका सर्वसाधारण तुम्लिङटार विमानस्थलबाट नै आवतजावत गर्छन् ।
उडान अवरुद्ध हुँदा संखुवासभा आउने र यहाँबाट जाने पर्यटकको समेत बिचल्ली भएको छ । यहाँ बुद्ध एयर र यती एयरले दैनिक उडान भर्दै आएका छन् । बुद्ध एयरले सातामा दुई दिन आइतबार र बुधबार विराटनगर उडान भर्ने गर्छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।