१३ फागुन , काठमाडौँ – सुन्धाराको एक होटलमा शनिबार बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक शर्मिला राउतका पे्रमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु विपिन मैनाली र असव सेवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राति ३ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा होटलमा पुगेका उनीहरुमध्ये युवती र खड्का एउटै कोठामा सुतेका थिए । साथै गएका खड्काका दुईजना साथीहरु सोही होटलको तीन तलामाथि कोठामा सुतेका थिए ।
खड्काले बिहान उठ्दा राउतलाई पंखामा पासो लगाएर झुण्डिरहेको अवस्थामा भेटेको बयान प्रहरीलाई दिएका छन् ।
युवतीका आफन्तले भने राउतको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन् ।
महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकुनन्त लिम्बूले घटनाबारे छानबिनका लागि तीनजनालाई नियन्त्रणमा लिइएको र शव परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिनुभयो ।
रासस