विमान दुर्घटनामा मृत्यु भएको भनिएका दिनेश हुमागाई घर पुग्दा परिवारजनमा हर्षको सीमा नै रहेन, पुर्नजन्म पाएको झै भएको भाग्यमानी दिनेशको कथन
काठमाडौं । यूएस बंगलाको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटना हुँदा धेरै जीवनले यो जगत त्याग्नु प¥यो । परिवारमा पीडाको पहाड खस्यो । अनि खुसी दैवले खोसेर लग्यो । तर, त्यहि दैवले कसैको जीवनमा पुनःजन्मको अध्याय पनि सुरु गरिदियो ।
विनिता हुमागाई । उमेर २७ वर्ष । काठमाडौंको शान्तिनगर बस्ने २ छोराकी आमा हुन् उनी । यतिबेला उनमा उत्साहको सीमा नै छैन । जीवनका धेरै ठूलो लडाई जिते जस्तो भएको छ । हुने नै भयो किनकी उनले यहि जीवनमा डुब्न लागेको घाम फेरि उदाएको जो देख्न पाएकी छिन् ।
सोमबार काठमाडौंको विमानस्थलमा विमान दुर्घटना हुँदा त्यसमा उनका श्रीमान् दिनेश हुमागाई पनि परेका थिए । तर भाग्य बलियो भएर उनी बाँचे । सामान्य चोटपटक लागेपनि अरु कुनै गम्भिर असर परेन । हामी शान्तिनगर पुग्दा परिवार शान्तिको शास फेरिरहेको थियो । र, दिनेश भन्दै थिए पूर्नजन्म पाइयो । अहो मेरो भाग्य ।
तर, अहिले पनि कतिपय सञ्चार माध्यममा उनको मृत्युको खबर बाहिर आइरहेको भन्दै विक्षिप्त बनाएको बताए । यसले आफन्तजन थप अत्तालिएको दुखेसो गरे ।
परिवारजनलाई नाप्नै नसक्ने खुशीले सम्हालिन धौ धौ भएको छ । तैपनि यो दुखद घटनापश्चात उद्धारमा देखाउन नसकेको तदारुकताले खिन्न बनाएको रहेछ ।
सिलिङ ट्राभलमा काम गर्ने दिनेश कामको शिलशिलामा बङ्गलादेश पुगेर नेपाल फर्कदै थिए । तर विमानले बदलेको दिशाले उनीसँग आएका धेरैको दशा बिगारिदियो । धेरैको इहलिला समाप्त भयो । मृत्युको मुखमा पुगेर यसलाई जित्ने जीवन उनले फेरी पाए । अनि दिनेश आर्फै भन्दै मेरो जीवनको पूर्नजन्ममा मलाई स्वागत छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।