सानो भूमिकाबाट बलिउड यात्रा सुरु गरेर बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका अभिनेता इरफान खान यतिबेला जीवनकै कठिन संघर्षमा छन् । उनी अहिले एउटा दुर्लभ रोगसँग जुधिरहेका छन् ।
गत साता सामाजिक सञ्जालमार्फत उनले आफूलाई दुर्लभ रोग लागेको खुलासा गरेका थिए । त्यो रोग ‘न्युरो इन्डोक्राइन ट्युमर’ भएको यी अभिनेताले ट्वीटरमार्फत पुनः खुलासा गरेका छन् ।
यी अभिनेताले अहिलेको आफ्नो अवस्थाबारे ट्वीट गर्दै लेखेका छन्, ‘जिन्दगीमा अचानक केही यस्तो हुन्छ कि जो तपाईंलाई अघि लैजान्छ । मेरो जिन्दगीको पछिल्ला केही दिन यस्तै हुँदै छ । मलाई न्युरो इन्डोक्राइन ट्युमर नामको रोग लागेको छ, तर मेरा नजिक रहेका आफन्त र शुभचिन्तकको शक्तिले मलाई विश्वास जगाएको छ ।’
अभिनेता इरफान खानले ट्वीटमा अगाडि लेखेका छन्, ‘यसको उपचारका लागि म विदेश जाँदै छु, मेरो स्वास्थ्यका लागि प्रार्थना गर्न म यहाँहरू सबैलाई अनुरोध गर्छु ।’
आफूलाई एक्कासि दुर्लभ रोग लागेको जानकारी हुँदा निकै ठूलो झट्का लागे पनि अब यसविरुद्ध लड्न सुरु गरिसकेको यी अभिनेताको भनाइ छ ।