०७ चैत्र , काठमाडौं – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने कामदारमाथि शोषण गर्ने गरी सञ्चालनमा रहेका विभिन्न नामका सिन्डिकेट संस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री विष्टले आफ्नै कार्याकक्षमा पत्रकारहरुसँगको छलफलमा यस्तो अभिव्यक्ति दिएका हुन् । सिन्डिेकटका कारण अहिले मलेसिया, साउदी अरेबिया, ओमन, कतार र बराइन जाने कामदारमा आर्थिक भार थपिएको छ । अहिले रोजगारीमा जाने कामदारमाथि स्वास्थ्य परीक्षण, पासपोर्ट संकलन, भिसा स्टाम्पिङ र सेवा शूल्क वापत शोषण भइरहेको छ ।
मलेसिया जाने कामदारको बायोमेट्रिक परीक्षणमा ३० वटा मेडिकल र साउदी, ओमन र बराइन जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालको नाममा १२ वटा मेडिकलको सिन्डिकेट छ ।
‘नेपालको संविधानले नै सबै प्रकारको सिन्डिकेट अन्त्यको अधिकार प्रत्याभुत गराएको छ’, मन्त्री विष्टले भने, ‘तर, वैदेशिक रोजगारको क्षेत्रमा सिन्डिकेटको जालो रहेछ । सिन्डिकेटका नाममा कामदार माथि शोषण गर्नेको दिन गणना सुरु भइसकेको छ ।’
यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।