काठमाडौं । गएको शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘शत्रु गते’ ले आक्रामक कारोबार गरिरहेको छ । शुक्रबार सिंगल थिएटरमा ५० प्रतिशत र मल्टिप्लेक्समा ७० प्रतिशत अकुपेन्सी रहेको यस सिनेमाको शनिबार भने शत प्रतिशत अकुपेन्सी रह्यो । शनिबार मात्रै सिनेमाले एक करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।
शुक्रबार र शनिबारको कारोबार जोड्ने हो भने सिनेमाले दुई दिनमा २ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । शुक्रबार सिनेमाको कारोबार जम्मा ७५ लाख रुपैयाँ मात्रै रह्यो । शनिबार जस्तै आइतबार पनि सार्वजनिक बिदा परेका कारण सिनेमाको कारोबार राम्रो हुने देखिएको छ ।
बिहानी ‘शो’ मा ८० प्रतिशत अकुपेन्सी रहे पनि त्यसपछिका सबै ‘शो’ हरु हाउसफुल छन् । यस हिसाबले सिनेमाले शनिबारको कारोबारलाई निरन्तरता दिनेमा निर्माणपक्ष ढुक्क छ । देशभरका १ सय २६ हलमा प्रदर्शन भएको यो सिनेमाका ‘शो’ हरु पनि थपिएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन् ।
सिनेमा हेरिसकेपछि दर्शकले सिनेमाको क्लाइमेक्स एकदमै राम्रो भएको र अहिलेसम्म कुनै पनि नेपाली सिनेमामा यस्तो क्लाइमेक्स देख्न नपाएको प्रतिकृया दिएको भन्दै निर्देशक भट्टराईले खुशी व्यक्त गरेका छन् ।
‘जात्रा’ पछि प्रदीपको निर्देशन रहेको यो दोस्रो सिनेमा हो । मह सञ्चारको ब्यानरमा निर्माण भएको यस सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, बसुन्धरा भुषाल, रमेशरन्जन झालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।