१५ चैत्र , पाँचथर – सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँडेकी पूर्व छापामारले उपचारका लागि सहयोगको माग गरेको समाचार (राससबाट) प्रकाशन भएपछि उनको निःशुल्क उपचार हुने भएको छ ।
झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभीरमा जन्मिएकी अनुपा राईको शरीरमा १५ वर्ष अघि लागेको गोलीको निःशुल्क उपचार हुने भएको हो ।
उहाँको शरीरमा लागेको गोली निकाल्न जति खर्च लागे पनि अस्पतालले निःशुल्क उपचार गरिदिने अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले बताए ।
युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन छापामार मनकुमार राईसँग पार्टीभित्रै विवाह गरेकी अनुपा अहिले पाँचथर सुभाङमै बस्छन् । उनका श्रीमान् चार वर्ष यता मलेसियामा वेल्डिङको काम गर्दैछन् ।
अनुपालाई २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर युद्धमा गोली लागेको थियो । उनको टाउको र देब्रे छातीमा छर्रा छ जसले अहिले धेरै पीडा दिन थालेको छ । ‘यसैको कारणले होला खुट्टा निदाउँछ, चलाउँनै गाह्रो हुन्छ’ फिदिममा पत्रकारसँग कुराकानी गर्दै अनुपाले भनिन् ।
विसं २०५७ मा ओखलढुंगाको कुइभीर माविमा नौ कक्षामा पढ्दापढ्दै युद्धमा होमिएकी थिइन् । जतिबेला उनी १५ वर्षकी मात्र थिइन। ‘स्कुलमा भएको एक कार्यक्रममा गरीब, दुःखीको मुक्ति हुन्छ भन्ने नेताहरुको भाषणबाट प्रभावित भएर एकैपल्ट १५ जना युद्धमा लागेका थियौँ’ उनले भनिन्, “२०६३ सालमा छोरा जन्मेपछि पार्टीको सैन्य फाँट छोडेँ र आफ्नो छापामार जीवनकालमा पाँचवटा युद्ध लडेँ ।”
विसं २०५८ मंसिर १० मा सोलुखुम्बु, २२ माघ २०५८ मा काभ्रेको भकुण्डेबेँसी आक्रमणमा अनुपाले लडिन् । २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर आक्रमणमा गम्भीर घाइते भइन् । तर पनि युद्धबाट फर्किने मन बनाइनन् अनुपाले, घाइते भएपछि पनि २२ भदौ २०५९ मा सिन्धुलीको भिमान र १० कात्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमण उनले लडेको अन्तिम युद्ध हो ।
‘रणसंग्रामबाट नयाँ जीवन पाएर फर्केकी थिएँ’ आफू घाइते भएको चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भनिन्, ‘साथीहरुले म मरेको रिपोर्ट कमान्डरकहाँ पु¥याएछन् त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरेछ ।’ गोली लागेर बेहोस भएकी उहाँ छ दिन जंगलमै बसेर पार्टीको सम्पर्कमा पुगेकी थिइन् ।
उहाँ शहीद भएको खबर घरसम्म पनि पुग्यो । तर काजकिरिया चाँही गरिएनछ घरमा । माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाडौँको लाइफ केयर अस्पतालसम्म पुग्नुभयो । तर छर्रा निकाल्न सकिएन । द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालय आएर फारम पनि भर्नुभयो । तर अहिलेसम्म कहीँकतैबाट पनि क्षतिपूर्ति नपाएको उहाँले बताउनुभयो ।
अहिले टाउको र छातीमा रहेको छर्राका कारण दिनदिनै आफूलाई गाह्रो हुँदै गएको अनुपा बताउँछिन् ।
रासस