प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले मुस्लिमको शिक्षामा चासो देखाएका छन् । जिल्लाको एकडारा गाउपालिका वडा नं. ४ हल्खोरीमा भएको फैजाने मुस्तफा समारोह (जल्सा)मा बाेल्दै मुख्यमन्त्री राउतले प्रदेश नं २ मा मुस्लिमहरु शिक्षामा दलितभन्दा पनि पछाडि रहेकोले प्रदेश सरकारको प्राथमिकता मुस्लिम, दलित लगायतका सम्पूर्ण जातजाति र वर्णका जनतामा शिक्षाको समान पहुँच हुनुपर्ने बताएका छन् ।
शिक्षा बिना सफलता असम्भव भएको बताउदै राउतले आफु समेत साधारण परिवारमा जन्मेपनि शिक्षाकै कारण आज प्रदेशको मुख्यमन्त्री बनेकाेले सफलता प्राप्त गर्न सबैले शिक्षालाई महत्व दिनुपर्ने बताए । जल्सामा आएका हजारौ मुस्लिम धर्मावलम्वीहरुलाई आफ्नो बालबालिकालाई नियमित विद्यालय पठाई शिक्षित बनाउन उनले जोड दिए ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रदेशको शिक्षास्तर उकास्न कदम चालिसकेको भएपनि यसलाइ सफल बनाउन जनताकै साथ र सहयोग चाहिने भएकोले आत्मादेखि नै शिक्षाको महत्व र त्यसको प्रभाव सबैले बुझ्न आग्रह गरे । अबको क्रान्ति प्रदेश २ शिक्षामा सबैभन्दा अगाडि भन्ने नै रहेकोले शिक्षामा सबैभन्दा पिछडिएको मुस्लिम समुदाय अब शिक्षामा सबभन्दा अगाडि आएर देखाउनु पर्ने बताए ।
उनले अल्पशिक्षा हुँदा वैदेशिक रोजगारीमा गएर सबैभन्दा बढी युवा ठगिने वा पैसा कमाउन समस्या समेत धेरै रहेकोले सकेसम्म स्वदेशमै सीपको प्रयोग गर्न आग्रह गरे । उनले भने -‘अब प्रदेश सबै क्षेत्रमा कडा प्रतिष्पर्धा आउन लागेकोले यहाँको युवाले अब यहाँकै विकासमा योगदान पुर्याउनु पर्ने भएकोले शिक्षाको पहुँचमा सबै पुग्नुपर्छ ।’
शिक्षामा विशेष जोड दिएका मुख्यमन्त्रीको सम्बोधनलाई समर्थन गर्दै प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, माओवादी केन्द्रका जिल्ला समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यका प्रत्यासी समेत रहेका मो.रजि हैदरले समेत बालबालिकालाई शिक्षित बनाउन सबै मुस्लिम समुदाय अगाडि बढ्नु पर्ने बताए ।
बुधवार अबेर साझँ जलसा उद्घाटन गर्न पुगेका मुख्यमन्त्रीलाई संघिय समाजवादी फोरम जिल्ला कार्यसमिति तथा जिल्ला अध्यक्ष राम नरेश राय यादवले जिल्लामा स्वागत गरेका थिए । जनकपुर-जलेश्वर हुलाकी सडक हुँदै एकडारा गाउँपालिका समारोह स्थलसम्म पुगेका मुख्यमन्त्रीलाई बाटोमा पार्टी कार्यकर्ता तथा स्थानीयहरुले अभिनन्दन गरेका थिए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।