जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदी राखिँदा बास बस्न समेत समस्या हुँदै आएको छ। कारागारको अवस्था समेत जीर्ण रहेको बेला क्षमता भन्दा बढी कैदी राखिँदा आफुहरुलाई बस्न समस्या हुने गरेको कैदीहरुले गुनासो गरेका छन् ।
२५ कैदी राख्ने क्षमता भएपनि हाल सो कारागारमा ३१ कैदी राखिएको जिल्ला कारागार बाजुराले जनाएको छ । कैदी पनि बढी र अझ कारागारको अवस्था जीर्ण रहेकाले बढी समस्या हुने गरेको कैदीहरुको भनाइ रहेको छ ।
३५ वर्षसम्म पनि पुननिर्माण हुन सकेन
कारागार स्थापना भएको ३५ वर्ष बितिसक्दा पनि भवनको पुननिर्माण हुन सकेको छैन । सो कारागार वि.सं. २०३९ सालमा स्थापना गरिएको थियो । २५ जना कैदी बन्दीका लागि क्षमता भएको बन्दी गृहमा अहिले ३१ कैदी राखिएको छ । भवन अभावमा क्षमता भन्दा बढी कैदी राख्न बाध्य भएको कारागार प्रशासनले जनाएको छ ।
बन्दीगृहमा अहिले कर्तव्य ज्यान मुद्धामा १० जना र ४ जना पुर्पक्ष थुनुवा गरि १४ जना कर्तव्य ज्यान मुद्धाका रहेका जिल्ला कारागार प्रमुख नन्दसिंह कार्कीले जानकारी दिए । त्यस्तै जबरजस्ती करणी मुद्धामा ८, पुर्पक्ष थुनुवा ३ गरी ११ जना रहेका छन् ।
ज्यान मार्ने उद्योग १, ओसार पसार मुद्धामा थुनुवा १, लागु औषध मुद्धामा थुनुवा २ र बालविवाह मुद्धामा १ गरि ३१ जना कैदी कारगारमा रहेको कार्कीले जानकारी दिएका छन । जसमा कैदी १९ जना, थुनुवा १२ जना रहेको कारागार कार्यालय बाजुराले जनाएको छ ।
प्रयाप्त सुरक्षाकर्मी नहुँदा कैदीलाई सास्ती
कारागार तथा कैदीवन्दीको सुरक्षाका लागि प्रयाप्त सुरक्षाकर्मी समेत नहुँदा आफुहरुले सास्ती बेहोर्नु परेको कैदीहरुले बताएका छन् । कैदी बन्दीको सुरक्षाका लागि २० जनाको दरवन्दी भएपनि सो संख्यामा सुरक्षाकर्मी नभएकोे बताइएको छ ।
गुणस्तरीय खाना नहुने, एक बर्ष देखी चर्पीको समेत समस्या रहेको कैदी नाईके बिमल शाहीले बताए । धेरै काम गर्न सक्ने क्षमता भएका कैदीलाई बन्द कोठामा राख्नु भन्दा देश निर्माण तथा विकासको अभियानमा प्रयोग गर्नुपर्ने शाहीको भनाइरहेको छ । सरकारी बाटो खन्न देखि पुल निर्माणमा समेत कैदीहरुको जमात लाइ प्रयोग गरे देशमा धेरै राहत हुने अर्का कैदी रुपेश रावत बताए ।
जिल्लाको कारागारमा १ बर्ष यता सिपमुलक तालिमका लागी सरकारले कुनै वास्ता नगरेको कैदीहरुले बताएका छन् । आफुहरुलाई आयआर्जन वा सिपविकास तालिम आवश्यक रहेको कैदी मोहन बिष्टले बताए । जेल भित्र नै विभिन्न सिप सिकाएर आयआर्जनका कार्यमा जिल्ला कारागारले ध्यान नदिएको उनले आरोप लगाएकाछन् ।
कैदीहरुलाई समस्या छ : प्रमुख कार्की
कारागार कार्यलयका प्रमुख तथा जेलर नन्दसिंह कार्कीले कैदिहरुलाई परेको समस्या स्वीकार गरेकाछन् । पानीको तथा चर्पीको पनी समस्या रहेको, कर्मचारीको अभाव भएको र कैदीबन्दीहरुलाई हेरचाह गर्ने सुरक्षाकर्मीको ब्यारेक समेत जिर्ण बन्दै गएको कार्कीले बताए ।
१० जना कर्मचारी दरबन्दी रहेको कारागार बाजुरामा हाल ५ जना मात्र कर्मचारी कार्यरत रहेकोले यसको सुधारका लागि केही गर्न नसकेको बताएका छन् ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।