- सरद,
काठमाडौँ । वर्ष २०७४ नेपाली फिल्मका लागि निकै फलदायी सावित भएको छ । यो वर्ष धेरै फिल्महरु रिलिजमा आए तर थोरै फिल्महरुले मात्र हिट हुन सफल भएका छन् । अबको केही घण्टापछि हामीले नयाँ वर्ष २०७५ लाई भव्यरुपमा स्वागत गर्दैछौँ ।
त्यसैले वर्ष समिक्षा स्वरुप बक्स अफिसमा धमाका मच्चाउँने केही फिल्महरुको बारेमा चर्चा गर्दैछौँ । ती सफल फिल्महरु यसप्रकार छन्ः
१. ‘छक्का पञ्जा २’
यो वर्ष फिल्म ‘छक्का पञ्जा २’ सबैभन्दा बढी कमाउने फिल्ममा पर्छ । यो फिल्मले १७ करोड रुपैयाँको व्यापार गरेको निर्माण पक्षले दावी गरेका छन् । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् ।
फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्का लगायतको अभिनय रहेको छ । यो फिल्म दसैं पर्वको समयमा रिलिज भएको थियो ।
२. ‘कृ’
यो वर्ष अभिनेता अनमोल केसी अभिनित फिल्म ‘कृ’ पनि रिलिज भएको थियो । अहिलेसम्म अनमोल केसी अभिनित सबै फिल्महरु हिट भएका छन् । यो वर्ष रिलिज भएको अनमोलको ‘कृ’ ले ६ करोड रुपैयाँ कमाएको बताईएको छ ।
यो फिल्ममा अनमोल केसी र अदिती बुढाथोकीको मुख्य भूमिका थियो । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
३. ‘प्रेमगीत २’
गत साउन १३ गते रिलिजमा आएको फिल्म ‘प्रेमगीत २’ ले पनि धेरै भन्दा धेरै चर्चा बटुल्न सफल भयो ।
प्रदीप खड्का, अश्लेषा ठकुरी, शिशिर भण्डारी, श्रद्धा प्रसाई, कविता रेग्मीलगायतको अभिनय रहेको यो फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । निर्माता सन्तोष सेनका अनुसार यो फिल्मले तीन करोडको व्यापार गरेको छ ।
४. ‘२ रुपैयाँ’
अशिफ शाहले निर्देशन गरेको फिल्म ‘२ रुपैयाँ’ पनि वर्षको सुपरहिट फिल्ममा नै पर्छ । यो फिल्ममा निश्चल बस्नेत र आशिफ शाहको मुख्य भूमिका रहेको छ ।
फिल्ममा समावेश गरिएको ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतले धेरै भन्दा भेरै चर्चा कमाउन सफ बनेको छ ।
कमेडी जान्रामा बनेको यो फिल्मले चार करोड भन्दा बढी कलेक्शन गरेको बताइएको छ ।
५. ए मेरो हजुर २
झरना थापाको डेब्यु निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ सुपरहिट सावित भयो । नायिका साम्राज्ञराज्यलक्ष्मी शाह र नायक सलिनमान बानियाको अभिनयको पनि राम्रो तारिफ भयो ।
इो फिल्मले ६ करोडभन्दा बढीको कमाई गरेको बताइएको छ ।
६. शत्रु गते
वर्षको अन्त्यतिर रिलिजमा आएको फिल्म ‘शत्रु गते’ले पनि राम्रो कलेक्शन गरिरहेको छ । मह सञ्चारको ब्यानरमा निर्माण गरिएको ‘शत्रु गते’ तेस्रो सातामा सिनेमा हलमा लागिरहेको छ ।
यो फिल्मले तीन दिनमै तीन करोड भन्दा बढी व्यापार गरेको थियो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्माको अभिनय रहेको छ ।
अहिले सम्म ‘शत्रु गते’ ले अहिलेसम्म साढे आठ करोडको व्यापार गरेको निर्माण पक्षको भनाइ छ । फिल्मलाई निर्देशन प्रदीप भट्टराईले गरेका हुन् ।
७. कान्छी
अभिनेत्री श्वेता खड्का अभिनित ‘कान्छी’ वर्षकै सफल फिल्ममा पर्छ । फिल्म ‘कान्छी’ मा दयाहाङ राई र श्वेता खड्काको जोडीलाई दर्शकले धेरै रुचाए ।
यो फिल्मले तीन करोडको हाराहारीमा व्यापार गरेको थियो । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।
८. ऐश्वर्य
यो वर्षको हिट फिल्म ‘ऐश्वर्य’ पनि हो । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा रमेश उप्रेती, केकी अधिकारी, दिपीका प्रसाई र प्रशान्त ताम्राकारको मुख्य भूमिका छ । बक्स अफिसमा यो फिल्मले पनि राम्रो गरेको थियो ।
९. झ्यानाकुटी
निशा अधिकारीले निर्माण गरेको पहिलो चलचित्र ‘झ्यानाकुटी’ वर्षकै सफल फिल्ममा पर्छ । कमेडी जनराको फिल्मलार्ई सिमोश सुनुवारले निर्देशन गरेका हुन् ।
फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, पुष्कर गुरुङ ,सुमी मोक्तानलगायतको अभिनय रहेको छ । यो फिल्मले साढे दुई करोडको व्यापार गरेको थियो ।
१०. फाटेको जुत्ता
फिल्म ‘फाटेको जुत्ता’ वर्षकै सफल फिल्मको लिष्टमा पर्छ । यो फिल्ममा सौगात मल्ल, प्रियंका कार्की र कामेश्वर चौरासियालगायतको अभिनय रहेको छ ।
फिल्मलाई अर्जुन कुमारले बनाएका हुन् । पहिलोपल्ट चलचित्र निर्देशनमा लागेका निकेश खड्काले खुबै तारिफ पाए ।
यो वर्ष सौगात मल्ल, दयाहाङ राई, निश्चल बस्नेत, अनमोल केसी, सलिनमान बानिया, प्रदीप खड्का, पल शाह, साम्राज्ञलक्ष्मी शाह, दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, केकी अधिकारी, दीपिका प्रसाई लगाएत कलाकारहरु चम्केका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।