विनोद सिंह विष्ट, बैतडी । चालु आर्थिक बर्ष २०७४/०७५ को ९ महिनाको अवधिमा नेपाल भारत सीमानाका झुलाघाटवाट १ सय बढी जनाको उद्धार गरिएको छ । सीमा प्रहरी चौकी झुलाघाटले दिएको जानकारी अनुसार उद्धार गरिनेमा सबैभन्दा बढी बालक रहेका छन् ।
गत साउनदेखि चैत महिना मसान्तसम्म ५६ बालक , २५ किशोर , पुरुष ९,किशोरी ६, बालिका ५ र ५ महिला गरी १०६ जनाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी नायव निरीक्षक चक्रदेव पाण्डेयले जानकारी दिनुभयो । उद्धार गरिनेमा १२ बर्षदेखि १८ बर्षमुनिका बालबालिका तथा किशोरकिशारी बढी रहेका छन् । अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीहरुको लहैलहमा लागेर पनि भागेर जाने गरेका प्रहरीले जनाएको छ ।
यस्तै घरको आर्थिक अवस्था कमजोर भएका बालबालिका पनि बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको बताईएको छ । १२ बर्ष देखि १९ बर्ष सम्मका बिद्यार्थी कोही घरपरिवारको स्वीकृत लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेको प्रहरीले जनाएको छ । यस्तै चालु आर्थिक बर्षमा उमेर नपुगी बिहे गरेर भागेर भारत जाने जोडीको समेत उद्धार गरिएको जनाएको छ । प्रदेश नं ७ सुदुरपश्चिमका ७ वटा पहाडी जिल्ला लगायत जुम्ला, कालीकोट, हुम्लाका नागरीक सिमानाका झुलाघाट हुदै भारत जाने गर्दछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।