नेपाल समाचारपत्र, काठमाडौं ।
गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप तथा शान्ति सुरक्षा भंग गर्ने गतिबिधि बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भई संलग्न अपराधीहरुलाई पक्राउ तथा कानूनी दायरामा ल्याउन नेपाल प्रहरी तदारुकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
गृहसचिव राईले प्रहरी प्रधान कार्यालयमा सोमबार निरीक्षण भ्रमण तथा उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।
सीमित साधनस्रोत तथा जनशक्तिका बावजूद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्दै गृहसचिव राईले सुशासनका पक्षमा अत्यन्त गम्भीर भएर नेपाल सरकारले लिएको नीति तथा कार्ययोजना सम्पादन गर्न नेपाल प्रहरीले अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिनुभयो ।
शान्ति सुरक्षा लगायत लागूऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपसार, राजश्व चुहावट नियन्त्रण जस्ता आपराधिक गतिबिधिमा संलग्नलाई तत्कालै कानूनी दायरामा ल्याउन समेत प्रहरीले सक्रिय भूमिका खेल्नुपर्ने कुरामा जोड दिँदै गृहसचिव राईले सूचना संकलनलाई थप विश्वसनीय बनाउँदै लैजान समेत आग्रह गर्नुभयो । नेपाल प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउँदै संगठनको सुढृढीकरणमा नेपाल सरकार तथा गृह मन्त्रालय सदैव प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको संस्थागत परिचय दिँदै नेपाल प्रहरीको बर्तमान अवस्था, सुरक्षा व्यवस्थापनमा देखिएका चुनौतिहरु, भौतिक पुर्वाधार र साधनस्रोतको अवस्था लगायत नेपाल प्रहरीको भावी रणनीति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरुपमा सम्पादन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको उहाँले बताउनुभयो ।
गृहसचिव राई प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो भने गृहसचिव राईले सलामी ग्रहण तथा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु एवम् प्रहरी बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।