पर्वत । शिक्षा सचिव खगराज बराल यहाँका एक बालकको अभिभावक बन्नुभएको छ ।
मोदी गाउँपालिका–६ तिलाहारस्थित नवजागृत माविमा स्थानीयवासी विनोद र राधिका लामिछानेका पाँच वर्षीय छोरा विवशलाई कक्षा १ मा भर्ना गराएर अभिभावकत्व ग्रहण गर्दै हरेक बालबालिकाको पढ्न पाउने अधिकारको रक्षा गर्न सरकारले विद्यालय बाहिर रहेकालाई भर्ना गराउने अभियान चलाएको र यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
सोही अवसरमा गाउँपालिकाका प्रमुख प्रेम पौडेलले सुमित तथा कोपिला लामिछानेका छोरा समितलाई कक्षा १ मा भर्ना गराएर अभिभावकत्व ग्रहण गर्नुभयो । त्यस्तै शिक्षा विभागका उपनिर्देशक नारायणप्रसाद सुवेदीले गणेश र सम्झना जिसीका छोरा सभ्यलाई भर्ना गराएर अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
त्यसैगरी मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले वीरेन्द्र र शान्ति केसीका छोरा अञ्जनलाई भर्ना गराएर अभिभावकत्व ग्रहण गर्नुभयो । यसअघि सोही विद्यालयमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, मोदी–६ का वडाध्यक्ष विमल लामिछाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछानेले विद्यार्थी भर्ना गराएर अभिभावकत्व ग्रहण गरिसक्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।