प्रशान्त वली, काठमाडौं
टुक्रिएका कम्युनिस्ट पार्टीहरू एकीकृत हुने तयारी थालेका छन्। त्यसका लागि आन्तरिक छलफल भइरहेको साना बाम पार्टीहरूले बताएका छन्।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि आन्तरिक छलफल तीव्र अघि बढेको छ।
ती पार्टीहरूले राष्ट्रिय स्वाधीनता, जनजिवीकाका सवालमा कार्यगत एकता गर्दै आएका छन्। मुख्यतः पार्टीको रणनीतिक र कार्यनितीका विषयमा छलफल नटुंगिदा एकता प्रक्रिया लम्बिएको क्रान्तिकारी माओवादीका प्रवक्ता हरीभक्त कडेंल प्रतीकले जानकारी दिनुभयो।
बा≈य आधारमा कुरा मिलिसकेको र आन्तरिक आधारमा छलफल भइरहेको भन्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने लक्ष्य प्राप्तिका लागि आफूहरू लागिपरेको क्रान्तिकारी माओवादीले बताएको छ।
क्रान्तिकारी माओवादीका प्रवक्ता कँडेल भन्नुहुन्छ– ‘बुझाइमा एकरुपता नहुँदा समस्या देखिएको छ। अन्तर्विरोधलाई हल गरेर एकता गर्ने प्रक्रियामा छलफल भइरहेको छ।’
परिवर्तनलाई आत्मसात् गर्न र क्रान्तिकारी कम्युनिस्टहरूलाई एकीकृत गरी जनवादी क्रान्तिको लक्ष्य चुम्न एकताको विकल्प नरहेको क्रान्तिकारी माओवादीका प्रवक्ता कँडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार पार्टी एकता प्रक्रियालाई मूर्तरुप दिने कार्य अघि बढाइने छ।
उहाँले भन्नुभयो– ‘क्रान्तिकारीहरू मिल्नुको विकल्प छैन। कम्युनिस्टहरू ध्रुवीकृत र एकीकृत हुन जरुरी छ।’ क्रान्तिकारी माओवादीले जनयुद्धबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि जनवादी क्रान्ति पूरा गर्ने कार्यनीति अवलम्बन गरेको छ।
उसले साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गर्दै दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्ने नीति अख्तियारी गरेको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिबाट समाजवादमा पुग्ने लक्ष्य राखेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।