काठमाडाैँ : शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ले ओपनिङमा आंशिक कमाइ गरे पनि शनिबारबाट भने पीकअप लिएको निर्माणपक्षले जनाएकाे छ ।
नायिका केकी अधिकारीद्वारा पहिलोपटक निर्मित फिल्म कोहलपुर एक्सप्रेसले एक सातामा १ करोड रुपियाँ बढी कमाइ गरेको छ। फिल्मले कम शो पाए पनि राजधानीका मल्टिप्लेक्स हलबाट १ करोड बढीको कमाइ गरेको निर्मात्री तथा नायिका केकी अधिकारीले बताएकी छिन् ।
फिल्म करोड क्लबमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीमा आयोजित एक समारोहका बीच केकीले केक काटेर खुसी सेयर गरेकी छिन्। केकीका साथमा नायिका प्रियंका कार्की, ऋचा शर्माको साथमा निर्देशक विशाल भण्डारी, कलाकार विनोद न्यौपाने, छायांकार अर्जुन तिवारी र बाल-कलाकार कुशाग्र भट्टराइले केक काटे ।
यो फिल्मलाई ३ नायिका प्रियंका कार्की, केकी अधिकारी र ऋचा शर्माले हाँकेका छन्। कमेडी जेनेराको फिल्ममा यी ३ सुन्दरीका साथमा विनोद न्यौपाने, बुद्धि तामाङ, रवीन्द्र झा, कुशाग्र भट्टराईलगायतले अभिनय गरेका छन्।
केकीले भनिन्– ‘दर्शकलाई हलसम्म तान्न मेल स्टार नै हुनुपर्छ भन्ने मान्यता महिलाकेन्द्रित कोहलपुर एक्सप्रेसले चिरेको छ।मेरो सोच ब्लकबस्टर फिल्म बनाउँछु भन्ने थिएन, ओपनिङ व्यापक हुन्छ भन्ने पनि थिएन। यतिका वर्ष यही फिल्म क्षेत्रमा बिताएपछि किन योगदान नगर्ने भन्ने हिसाबमा फिल्म निर्माण गरेकी थिएँ र आज सफल पनि भएँ।’
दोश्रो हप्तामा पनि दर्शकले उस्तै माया गर्ने विश्वास निर्माणपक्षको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।