काठमाडौं । तपार्इंले हरियो स्टिकर आफ्ना सवारीसाधनमा राख्नुभएको छ रु यदि छैन भने तपाईंले हरियो स्टिकर अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था यातायात व्यवस्था विभागले गरेको छ । तर, तपाईंले यसका लागि आफ्नो सवारी परीक्षण गराएर मात्रै हरियो स्टिकर लगाउनुपर्ने हुन्छ ।
यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाभित्र र मुलुकभर रहेका महानगरपालिका र उप–महानगरकामा सञ्चालन हुने यातायातमा हरियो स्टिकर अनिवार्य गरेको हो । विभागका एक अधिकारीका अनुसार आगामी साउन १ गतेदेखि मुलुकभरका काठमाडौं उपत्यकासहित अन्य महानगरपालिका र उपमहानगरपालिकामा हरियो स्टिकर नभएका सवारीसाधन सञ्चालन नगर्न नपाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।
यसका लागि विभागले आवश्यक व्यवस्था मिलाउने तयारी गरेको छ । राजधानी काठमाडौं प्रदूषित सहरको सूचीमा परेपछि अहिले काठमाडौं उपत्यकालाई स्वच्छ तथा प्रदूषणरहित बनाउनका लागि पुराना सवारीसाधनहरु सञ्चालनमा रोक लगाउने र वातावरणमैत्री यातायात साधन सञ्चालन गर्नका लागि गृहकार्य भइरहेका छन् । ध्वनि तथा वायु प्रदूषणका कारण पनि अहिले काठमाडौं उपत्यका मानव स्वास्थ्य प्रतिकूल बन्दै गएको छ ।
सरकारले यसलाई न्यूनीकरण गर्नका लागि अहिले ठूला सवारीसाधनको प्रयोगलाई जोड दिएको छ भने ठूला बसहरु सञ्चालनका लागि निजी क्षेत्रबाट विभिन्न कम्पनीहरुले चासो दिएका छन् । यस्तै विभागले २० वर्षभन्दा पुराना सवारी साधनहरु सञ्चालनमा पनि रोक लगाउने घोषणा गर्दै आएको छ । सवारीसाधनबाट हुने प्रदूषण वैज्ञानिक ढंगबाट जाँचपास गर्न मेशिनरी उपकरण खरिद गरिएको विभागले जानकारी दिएको छ ।
यस्तै यातायात क्षेत्रलाई व्यवस्थीत बनाउनका लागि विभिन्न १० वटा मापदण्डसमेत सार्वजनिक गरेको छ । ती मापदण्डमध्ये सवारी प्रदूषण परीक्षण निर्देशिका, २०७४, मझौला तथा साना सवारी परीक्षण सम्बन्धी मापदण्डसमेत विभागले बनाएको छ । यी मापदण्डबाट अहिले भएको सवारी साधनको प्रदुषण नियन्त्रण तथा न्यूनीकरणमा मद्दत पुग्ने देखिन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।