रामेछाप । सुनापती गाउँपालिका अन्तर्गत निर्माण हुने कार्यालय भवन निर्माणका लागि हिलेदेवीका स्थानीयले ४० करोड बराबरको जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् । गाउँपालिकाको केन्द्र हिलेदेवी सादीडाँडाका ३० घरपरिवारले गाउँपालिकालाई ८२ रोपनी जग्गा जग्गा निशुल्क रुपमा प्रदान गरेका हुन् ।
३० घरपरिवारले न्युनतम आठ आनादेखि पाँच रोपनीसम्म गरी ८२ रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका हुन् । गाउँपालिकाको बैठकले हाल गाउँपालिकाको केन्द्र बसेको भवन आसपास निशुल्क रुपमा जग्गा उपलब्ध गराउनका स्थानीय समाजसेवी बिबी तामाङको संयोजकत्वमा जग्गा खोज तलास गर्न उपसमिति गठन गरेको थियो ।
तामाङको नेतृत्वको नौ सदस्यीय टोलीले सात दिनभित्रको म्याद पाएपनि दुई दिनभित्र नै जग्गा निशुल्क खोजेर गाउँपालिकालाई बुझाएको छ । शुक्रवार एक कार्यक्रमकोबीच संयोजक तामाङले ८२ रोपनी जग्गाको लाल पुर्जा गाउँपालिकाका अध्यक्ष धावा लामा र उपाध्यक्ष गिता विष्टलाई बुझाउनुभयो ।
संयोजक तामाङले गाउँपालिकालाई निशुल्क रुपमा ८२ रोपनी जग्गा उपलब्ध गराउन पाउदा आफूलाई निकै खुसी लागेको बताउदै गाउँपालिका अन्तर्गत बन्ने भवन निर्माणको लागि ३० जना दानवीरहरुलाई धन्यवाद दिनुभयो । जग्गा खरिद गर्ने पैसाले अब गाउँपालिकाले आफ्नो भवन बनाउने आशा गरेको बताउदै तामाङले गाउँपालिकाले जति बेला भनेपनि आफूहरु जग्गा पास गरेर दिन तयारी अवस्थामा रहेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाकालाई निकै माया गरेर निशुल्क रुपमा जग्गा प्रदान गर्ने व्यक्तिहरुलाई धन्यवाद दिदै भन्नुभयो,‘गाउँपालिका निर्माणको लागि निशुल्क रुपमा जग्गा दिनु हाम्रो लागि निकै खुसीको कुरा हो ।’
गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले अहिले ८२ रोपनी जग्गा दिएपनि आगामी दिनमा एक सय रोपनी दिन प्रतिबद्धता स्थानीयले गरेको बताउनभुयो । निशुल्क रुपमा जग्गा प्रदान गर्ने व्यक्तिहरुलाई गाउँपालिकाले सम्मान गर्ने पनि उहाँले बताउनुभयो ।
जग्गा खोजतलास गर्नको लागि उपाध्यक्ष गिता विष्टको संयोजकत्वमा हिलेदेवीको वडा अध्यक्ष बाबुराम तामाङ, बेथानका वडा अध्यक्ष खड्ग घिसिङ सहितको समिति बनेको थियो । समितिले बिबी तामाङको संयोजकत्वमा नौ सदस्यीय उपसमिति बनेको थियो ।
सुनापती गाउँपालिका–३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङले गाउँपालिकालाई जग्गा निशुल्क रुपमा उपलब्ध गराउने दाताहरुलाई धन्यवाद दिए । उनले भने,‘हाम्रो प्रयासमा स्थानीयले जग्गा उपलब्ध गराउन सहयोग गर्नुभयो, हामी जग्गा दिने दाताहरुको उच्च सम्मान गर्दछौ ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।