काठमाडौं। नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच ‘बक्स अफिस’ लगाउनेसहित १७ बुँदे सहमति भएको छ ।
‘बक्स अफिस’ प्रणाली, न्यायोचित सेयर बाँडफाँट र राष्ट्रिय फिल्म नीति कार्यान्वयनका विषयमा दुई संस्थाबीच विवाद थियो । चलचित्र निर्माता, वितरक र हल सञ्चालकबीचको विवाद टुंग्याउँदै चलचित्र संघ र चलचित्र निर्माता संघबीच आज सहमति भएको हो ।
दुबै संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी नेपाली चलचित्र उद्योगको विकास, विस्तार, प्रवद्र्धन र संरक्षण तथा चलचित्रको व्यवस्थित, मर्यादित र सर्वसुलभ प्रदर्शनमा सहकार्य गर्ने स्पष्ट पारेका हुन् । आम्दानी र दर्शक संख्या पारदर्शी हुने ‘बक्स अफिस’प्रति हल सञ्चालक असन्तुष्ट रहँदा निर्माता लगाउनै पर्ने पक्षमा थिए । पछिल्लो सहमतिसँगै साउन १ गतेदेखि ‘बक्स अफिस’ लगाउने सरकारको निर्णय कार्यान्वयन हुने वातावरण बनेको छ ।
दुई संघबीच तीनभन्दा बढी चलचित्र भवन रहेकालाई ‘मल्टिप्लेक्स’को मान्यता दिने सहमति भएको छ । काठमाडौंका ‘मल्टिप्लेक्स’मा दुईसय पचास र बाहिरकोमा दुईसय टिकट दर निर्धारण गरिएको छ । यस्तै, ‘मल्टिप्लेक्स’ चलचित्र घरको नेट शेयर बाँडफाँट पहिलो साता ५०, दोस्रो साता ४५, तेस्रो साता ४० र चौथो सातादेखि ३५ प्रतिशत निर्माताले पाउने सहमति पनि भएको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।